देउवाको दाबी- छिटफुट गुनासो सम्बोधन गरेर कांग्रेस एक भएर अगाडि बढेको छ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी अहिलेको परिस्थितिमा एक भएर अघि बढेको दाबी गरेका छन् ।
कांग्रेस बागलुङले आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसमा भएका छिटफुट गुनासोलाई सम्बोधन गरेको बताए ।
उनले कांग्रेस पुनः संगठित र थप मजुबत हुँदै जिल्ला सम्मेलन आयोजना गर्नु सुखद पक्ष रहेको बताए । वडादेखि जिल्ला सम्मेलनमार्फत कांग्रेस थप मजबुत हुने सभापति देउवाले विश्वास व्यक्त गरे ।
उनले भने, ‘नेपालको संविधानको कार्यान्वयन र संघीयताको विषयमा छिटफुट गुनासालाई हामीले स्वाभाविक मानेका छौं । वर्तमान संविधान पूर्ण कार्यान्वयनमा जान्छ, त्यसमा कुनै शंका गर्न पर्दैन । नेपालको संविधान उत्कृष्ट संविधान हो, यसको कार्यान्वयनमा आएका केही समस्या हामी समाधान गरेर अगाडि बढ्छौं ।’
नेपाली कांग्रेस विकास र समृद्धिको पक्षमा सदैव रहने बताउँदै सभापति देउवाले राजनीतिक प्रतिशोधका आधारमा कसैलाई गाली गर्न नहुने बताए ।