मानव सेवामा आनीको देशयात्रा: लागुपदार्थ प्रयोगकर्ताको अवस्था देखेर रोक्न सकिनन् आँसु
रुपन्देही । देश चाडपर्वमय बन्दा मानव सेवा आश्रमका अभियान्ताहरु घरपरिवार र समाजबाटै अपहेलित र परित्यक्त सहयोगापेक्षीहरुको उद्धारका लागि मेची महाकाली यात्रा गरिरहेका छन् । यो यात्राको केन्द्रमा छन् कलाकार आनी छोइङ डोल्मा ।
३८ दिनसम्म चल्ने यात्रामा ४० यात्रु छन् । केही दिनअघि दिनभरको सेवा सकेर यात्रुको टोली वीरगञ्ज पुग्यो । मानव सेवा आश्रमलाई माया गर्ने स्थानीय अभिभावकहरुले यात्रुलाई वीरगञ्जमा स्वागतपछि कार्यक्रममा बोल्दै आनी भक्कानिइन् ।
उनले रुँदै भनिन्, ‘मलाई सबैको अघि रुन लाज लाग्छ, सकेसम्म सम्मालिन खोज्छु । तर, कठिन हुन्छ । हरेक दिन जब बेडमा पुग्छु तब दिनभरका घटनालाई सम्झेर आफैं रुन पुग्छु । उर्लाबारीमा भेटेको सागर भाइले मलाई अझै बढी रुवायो । ऊ ड्रगिस्ट (लागुपदार्थ प्रयोगकर्ता) रहेछ । सबैको आँखामा ऊ ड्रगिस्ट हो, बदमास हो र बिग्रेको केटा हो । तर, मलाई ऊभित्र के बितिरहेको छ भन्ने कुराले सतायो । ऊ कसरी यस्तो बन्यो भन्ने कुराले घर गर्यो । नियमित ड्रग लिनेहरुले जब ड्रग लिन पाउँदैन, पूरै आन्द्रा बटारिएर आउँछ भन्ने सुनेकी छु । ऊ चिच्चाउँदा, अनुनयविनय गरिरहँदा मलाई अलि धेरै नै असहज भयो ।’
यतिबेलासम्म आनी भक्कानिएर रोइरहिन् ।
उनले थपिन्, ‘मान्छेको हृदय यति कठोर भइसक्यो कि उसले सबै कोणबाट ड्रगिस्टलाई नै खराब देख्छ । उसलाई कसरी सहयोग गर्ने भन्ने धेरैको मनमा आउँदैन । सागर जस्तै भाइहरु कति होलान् यो देशमा । ऊ त मात्र प्रतिनिधि पात्र न भयो । मानिसको हृदय यान्त्रिक बनिसक्यो कि सागर जस्ता भाइहरुलाई बुझ्ने र सहयोग गर्नेहरुभन्दा उसलाई घृणा गर्नेहरु अधिक छन् ।’
अधिकांश यात्रु र स्वागतका लागि आएका अभिभावकहरुको आँखा रसाए । कार्यक्रम स्थलमा एकछिन सन्नाटा नै छायो ।
भएको के थियो ?
मोरङको उर्लाबारीमा यात्रु पुग्दा उर्लाबारी नगरपालिकाका नगर प्रहरी र जनप्रतिनिधिले सो क्षेत्रका सहयोगापेक्षीहरुलाई एक ठाउँमा जम्मा गरेर राखेका थिए । उनीहरुलाई गाडीमा राख्न खोज्दा सागर गाडी चढ्न मानिरहेका थिएनन् । जब आनीले सम्झाउनुभयो, त्यसपछि आमाले भनेकाले जान्छु भन्दै सागर गाडी चढ्यो । उद्धार गरिएकाहरुलाई बेतना सिमसार क्षेत्रको पार्कभित्र ल्याई नुवाइधुवाइ गरिदिने र भोजन गराउने कार्य भइरहेको थियो । सागर एक्कासि छट्पटिन थाल्यो । उसले आफूलाई छोडिदिन अनुनयविनय गरिरह्यो । पटक पटक भाग्न खोज्यो ।
यात्रु उसलाई सम्झाउन खोज्दै थिए । तर, उनले कसैलाई सुनिरहेको थिएन । सागर आनीको खुट्टा समाएर रुँदै ‘आमा, प्लिज मलाई छोडिदिनू, म फर्किएर आउँछु, मलाई एक डोज लिन दिनू आमा ! म त्यसपछि कहिल्यै ड्रग लिदिनँ, म सुध्रिन्छु’ भन्दै कराइरहे ।
अर्कातिर सबैको दुर्व्यवहार र घृणाले आजित भएका उनी आनीमा आफ्नोपन खोजिरहेका थिए । घरपरिवार र आफन्त कोही नभएको तत्काल आश्रममा राख्न सकिने अवस्था पनि नभएकाले उनलाई मानव सेवा आश्रमले नै मासिक १५ हजार तिर्नेगरी सुधार गृहमा पठायो ।
मानव सेवामा रमाइरहेकी आनी
यसअघिका मेची महाकाली यात्रा मानव सेवा आश्रमका लागि त्यति सहज थिएन । उद्धार र उद्धार भएकाहरुको व्यवस्थापनभन्दा बढी यात्राको खर्च जुटाउन यात्रु केन्द्रित हुनुपर्थ्यो । यो पटक यात्राको खर्च जुटाउनुपर्ने तनाव आश्रमलाई भएन । यसको प्रमुख कारण हो, यात्राको सम्पूर्ण खर्च आनी छोइङ डोल्मा फाउण्डेसनले व्यहोरेको छ । यससँगै यात्रामा फाउण्डेसनकी अध्यक्ष एवं गायिका आनीको सहभागिताले यात्रुलाई थप उत्साहित बनायो ।
आनी सहयोगापेक्षीको उद्धारमा सरिक हुँदै उद्धार गरिएकाहरुको नुवाइधुवाइ र सरसफाइमा समेत दिल खोलेर लागिन् ।
‘आनी दिदी हाम्रो लागि भगवानको दूत बनेर आउनुभएको अनुभूति भएको छ’, यात्राको नेतृत्व गरिरहेका मानव सेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारी भन्छन् ।
धर्मपूर्वको कमाइ र त्यसको उच्चतम सदुपयोग
फूलको आँखामा फूलै संसार गीत नसुन्ने र नगुनगुनाउने सायदै होलान् । नेपाली चेली आनीको लाइभ कन्सर्टको आनन्द भने नेपालीले भन्दा विदेशीले बढी लिने गरेका छन् । संगीतमार्फत संसारलाई सकारात्मक र अध्यात्मतर्फ डोर्याइरहेकी आनी संसारलाई महँगोमा गीत सुनाएर कमाएको पैसा समाजका लागि खर्चिरहेकी छन् ।
उनले आफ्नै कमाइले एउटा बालगृह सञ्चालन गरिरहेकी छन् । आफ्नो बालगृह र बालगृह बाहिर गरेर झण्डै ३०० जना बच्चाको शिक्षादीक्षा र पालनपोषण आफ्नै कमाइले धानिरहेकी उनी यसबाहेक पनि सामाजिक कार्यमा मनग्य खर्च गरिरहेकी हुन्छिन् । केही समयअघि मात्र उनले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका प्रमुख प्रा.डा. भगवान कोइरालालाई बाल अस्पताल निर्माणको लागि १ करोड ८० लाख रुपैयाँ सहयोग गरिन् ।
तुइन विस्थापनको लागि समेत उनले सरकारलाई १ करोड सहयोग गरेकी छन् । उनले गरेका कैयौं सामाजिक कामहरु न उनले कतै प्रचार गरेकी छिन् न त धेरैलाई थाहा नै छ ।
आनी भन्छिन्, ‘नुहाउने बेलामा एक जग पानीसम्म बढी खेर गयो भने पनि मलाई नरमाइलो लाग्छ । म कमाएको थोपा थोपा जोगाउँछु । भिक्षु भएकीले पनि होला, मलाई धेरैले पारिश्रमिकभन्दा पनि दक्षिणा बढी दिने गर्छन् । म सकेसम्म यस्तो पैसा आफ्नो हातमै नपारी सेवाको लागि पठाइदिन्छु । केही समय अघि मुकेश अम्बानीले आयोजना गरेको कार्यक्रममा ५ मिनेटको गीत गाएको १६ लाख दिएका थिए । मैले त्यो पैसा सिक्किममा बन्दै गरेको एक गुम्बालाई सहयोग गरें ।’