किसानलाई वस्तुभाउ पाल्न गुल्मीको इस्मामा अनुदान


रुपन्देही । पछिल्लो समय धेरै किसानले पशुपालनतर्फ रुचि कम देखाएपछि गुल्मीको इस्मा गाउँपालिकाले उनीहरुलाई व्यावसायिकरुपमा पशुपालनतर्फ आकर्षित गराउन उत्पादनमा आधारित अनुदान रकम दिन सुरु गरेको छ ।
पालिकाले प्रोत्साहनस्वरुप गाईभैँसी पाल्ने किसानलाई अनुदान रकम उपलब्ध गराउन थालेको हो । किसानलाई कृषि र पशु पालनमा प्रोत्साहन गर्दै थप हौसला प्रदान गर्न पालिकाले गत आवदेखि अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।
“यसरी व्यावसायिक रूपमा सञ्चालनमा आएका फार्मको अवलोकन गर्दा किसानको मेहनत देखेर निकै खुसी लागेको छ”, उनले भनिन्, “यसले ईस्मालाई दूधमा आत्मनिर्भर बनाउन थालेको छ ।”
पालिकाले उपलब्ध गराएको अनुदानको रकमले व्यावसायिक किसानलाई थप ऊर्जा र हौसला थपिदिएको गगन गृष्मा फार्मका सञ्चालक गगन कुँवरले बताए । पालिकाले गत आवमा छ फार्मलाई अनुदान उपलब्ध गराएको थियो ।
पालिकाभित्र पाँचभन्दा धेरै दुहुना गाईभैँसी पाल्ने किसानलाई मासिकरुपमा १० हजार अनुदान उपलब्ध गराउने निर्णय भएअनुसार अनुदान रकम वितरण गर्दै आइएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जनाएका छन् ।
उनका अनुसार पालिकाले चालु आर्थिक वर्षमा चार पशुपालन गर्ने फार्मलाई मासिक १० हजारका दरले अनुदान रकम उपलब्ध गराएको छ । उक्त फार्मले पाँचभन्दा बढी दुहुना गाईभैँसी पाल्दै आएकाले अनुदान रकम उपलब्ध गराइएको अध्यक्ष खड्काले बताए ।
उनका अनुसार अनुदान पाउनेमध्ये वडा नं ५ मा रहेको नमुना कृषि तथा पशुपक्षी फार्ममा नौ दुहुना गाई, वडा नं–१ को गौरव कृषि तथा पशुपक्षी फार्ममा नौ, वडा नं।६ को घिमिरे कृषि तथा पशुपन्क्षी फार्ममा नौ र वडा नं २ मा रहेको गगन गृष्मा कृषि तथा पशुपक्षी फार्ममा आठ गरी ३५ वटा दूध दिने गाईभैँसी रहेका छन् ।