पोल्याण्डका कन्सुलर सुवेदीलाई मानव तस्करीको आरोप, निलम्बन गर्न परराष्ट्र मन्त्रालयमा निवेदन


काठमाडौं । पोल्याण्डको वार्सा क्षेत्रका अवैतनिक वाणिज्यदूत (कन्सुलर) रहेका डा. बोधराज सुवेदीलाई पदमुक्त गर्न माग गर्दे परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको छ । नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले उनीविरुद्ध निवेदन दर्ता गराएका हुन् ।
परराष्ट्र मन्त्रालयमा दर्ता भएको निवेदनमा सुवेदीमाथि मानव तस्करी तथा ओसारपसारको आरोप लागेकाले उनलाई तत्काल वाणिज्यदूतबाट निलम्बन गरेर उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा अनुसन्धानको लागि पत्र पठाउन सफलले माग गरेका छन् ।
मानव तस्करी तथा ओसारपसारमा संलग्न व्यक्ति वाणिज्यदूत जस्तो पदमा बस्दा नेपालको स्वाभिमान, इमानमा गम्भीर चोट परेको साथै त्यस्तो खराब आचरण भएका व्यक्तिले राष्ट्रको प्रतिनिधित्व गर्ने कुरा सोच्न समेत नसकिने निवेदनमा उल्लेख छ । साथै विभिन्न प्रलोभनमा परी सुवेदीलाई वाणिज्यदूतमा सिफारिस गर्ने जर्मनस्थित नेपाली राजदूतलाईसमेत कारबाहीको माग गरिएको छ ।
सुवेदीमाथि एनआरएनए पोल्याण्डको अध्यक्ष हुँदा सन् २००९ को नयाँ वर्षमा आयोजित कार्यक्रममा सहभागिताका लागि भन्दै आठ जना नेपालीलाई अवैधानिक तरिकाले पोल्याण्ड बोलाएर मानव ओसारपसारमा संलग्न भएको आरोप छ । यद्यपि उनले भने प्रेस विज्ञप्तिमार्फत आठ जना नभई दुई जनालाई मात्र आफूले पोल्याण्ड ल्याएको बताउँदै आएका छन् ।
सुवेदीले आफू एनआरएनए पोल्याण्डको अध्यक्ष भन्दै काठमाडौंका रमेशकुमार मल्ल र म्याग्दीका टीका पुनलाई २००८ डिसेम्बर ११ तारिखमा भिसाका लागि दूतावासलाई लेखेको पत्रसमेत सार्वजनिक भएको थियो ।
सुवेदीलाई कन्सुलर नबनाउन भन्दै नेपाली काँग्रेसको भातृ संगठन जनसम्पर्क समिति पोल्याण्डका सभापति नारायण चालिसेले पोल्याण्डका संघसंस्थाको तर्फबाट परराष्ट्र मन्त्रालय र नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा २०७९ फागुन चार गते उजुरी दर्ता गराएका थिए ।
तत्कालीन केपी शर्मा ओलीको सरकारले सुवेदीको वाणिज्यदूत नियुक्ति विवादित छवि भएको भन्दै रोकेको थियो । तर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद बैठकले २०७९ साल साउन नौ गते सुवेदीलाई पोल्याण्डको वारसा क्षेत्रमा कार्यक्षेत्र तोकी नेपालको अवैतनिक वाणिज्यदूत नियुक्त गरेको हो ।
युवराजले तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध पनि मुद्दा दर्ता गराएपछि लामिछाने पदमुक्त भएका थिए ।
यो कलौटेको निबेदनको भर छैन