मनाङ एयर दुर्घटना अपडेट : पाइलट सेढाईंलाई थप उपचारका लागि भारत लैजाने तयारी


काठमाडौं । मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंको ह्याम्स अस्पतालमा उपचार जारी छ ।
शनिवार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि आजै भारतको नेशनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको अस्पतालले जनाएको छ ।
उनको उपचार इमरजेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको डाक्टर सबिन कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अस्पतालका अनुसार उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ । साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको विज्ञप्तिमार्फत अस्पतालले जानकारी दिएको छ ।
उनको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको अस्पतालले जनाएको छ।
हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिवार बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना भएको थियो ।