सार्वजनिक र सर्वसाधारणका जग्गा किर्ते गरेर बेच्नेलाई कारबाही गर्न एमालेकाे माग


रुपन्देही । नेकपा एमालेले बुटवल उपमहानगरभित्र रहेका सार्वजनिक जग्गाहरु मालपोत र नापी कार्यालयको मिलेमतोमा बिचौलियाहरुले व्यक्तिको नाममा दर्ता गरी बेचबिखन गरेको भन्दै पर्याप्त आधारहरु भेटिएको बताउँदै दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
विगतमा व्यक्तिले हकभोग गरेको जग्गाहरु समेत मिलेमतोको आधारमा अर्को व्यक्तिको नाममा नामसारी गरी जग्गा बेचबिखन भइरहेको एमालेको आरोप छ । नेकपा एमाले बुटवल नगरकमिटीले विभिन्न १५ बुँदे ध्यानकर्षणसहित मालपोत कार्यालय बुटवललाई बिहीबार ज्ञापनपत्र बुझाएको हो । नगर कमिटीका अध्यक्ष किसन ज्ञवालीको नेतृत्वमा गएको टोलीले मालपोत कार्यालय बुटवलका प्रमुख दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको थियो ।
बुटवल उपमहानगर वडा नम्बर १२ र १३ लगायतका वडाहरुमा अव्यवस्थित बसोबास गरिरहेकाहरुमध्ये हालै वितरण गरिएको जग्गाधनी प्रमाण पूर्जाहरु अवैध देखिएको अध्यक्ष ज्ञवालीले बताए । उक्त घटनाले वर्षौदेखि बसोबास गरिरहेकाहरु पीडित बनिरहेको बताए ।
यसैगरी मालपोत र नापीकार्यालय एकै ठाउँमा राखेर सेवालाई सहज बनाउनु पर्ने, जग्गा श्रेस्तालाई पूर्णरुपमा डिजिटल प्रणालीमा लैजानु पर्ने, सफ्टवेयर प्रणालीलाई व्यवस्थित र गुणस्तरीय बनाउनु पर्ने, बुटवलमा रहेका सार्वजनिकजग्गाको एकिन गरेर त्यसको संरक्षणका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने लगायतका मागसहित ध्यानाकर्षण गराइएको छ ।
एमाले बुटवल नगर कमिटीले भूमिसुधार मन्त्रालयबाट भएको कित्ताकाट सम्बन्धी निर्णयलाई आम सर्वसाधारण जनताले सजिलोसँग सेवा पाउने गरि कार्यान्वयन गर्नुपर्ने, राजस्व संकलन गर्ने समय बिहान १० देखि साझ ४ बजेसम्म हुनुपर्ने तथा उपमहानगरभित्र जग्गाको हालसाबिक र लगत कट्टाको काम तत्काल सम्पन्न गर्न माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै मालपोत कार्यालय बुटवलका प्रमुख भण्डारीले आवश्यक जानकारी बुझेपछि आफूले कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता गरे । सेवाग्राहीलाई सहज सुविधा उपलब्ध गराउनु नै आफ्नो प्रमुख र पहिलो प्राथमिकता रहेको बताउँदै उनले त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्ने प्रतिवद्धता गरे ।
भ्रममा नपरौ है? याहा सर्वसाधारण भन्नाले एमालेका नेता, उनीहरूका नाता गोता र कार्यकर्ता मात्रै हुन। सार्वजनिक भन्नाले ती माथीका व्यक्तिका घर अगाडीका हडप्न बाकि रहेको जग्गा हो भनि बुझ्ने।