अस्पतालबाट शिशु बिक्री गरेको आरोपमा चिकित्सकसहित ३ जना जेल चलान, ३ जना धरौटीमा रिहा


विराटनगर । अविवाहित युवतीबाट जन्मिएको शिशु अस्पतालबाटै बिक्री गरेकोअभियोगमा ३ जना कारागार चलान भएका छन् । ३ जना भने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत मोरङले ग्रीनक्रस अस्पतालका चिकित्सकसहित ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले अन्य ३ जनालाई धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । शिशु बिक्री घटनामा सम्लग्न रहेको अभियोगमा विराटनगर–२ तीनपैनी घर भएका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण, शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र डा. तपेश्वरसँग शिशु खरिद गरेर लैजाने मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलका ३० वर्षीय सूर्यनारायण राजवंशीलाई थुनामा राख्न अदालतले आदेशअदालतका सूचना अधिकारी ओमराज सुवेदीले बताए ।
अभियोग लागेका सिरहा घर भई विराटनगर–११ जनपथ टोल बस्ने ४० वर्षीया नीरु भनिने निर्मला यादव, मोरङको कटहरी–२ की ३३ वर्षीया सुधा भनिने शुक्री राजवंशी र ४७ वर्षीया दिलमनीदेवी राजवंशीलाई धरौटी रकम लिएर छाड्न अदालतले आदेश दिएको छ ।
अदालतले शुक्रीसँग २ लाख, निर्मलासँग १ लाख र दिलमनीदेवीसँग १० हजार रूपैयाँ धरौटी माग गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय मोरङले ६ जनालाई अभियुक्त बनाएर अपहरण तथा व्यक्ति बेपत्ता पार्ने कसूरमा सोमबार अदालतमा मुद्दा दर्ता गरेको थियो ।
अभियुक्तमध्ये डा. तपेश्वर र गोविन्दलाई भदौ १ गते तथा अरुलाई भदौ ५ गते पक्राउ गरेर प्रहरीले पक्राउ गरेको थियो । गोविन्द राईसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी २६ वर्षीया अविवाहित युवतीले असार १४ गते शिशु (छोरी) जन्माएकी थिइन् ।