लुम्बिनीमा पर्यटकको गन्तव्य सहज बनाउन नयाँ अभ्यास सुरु


रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले पर्यटक भित्र्याउन र उनीहरुको यात्रा सहज बनाउन नयाँ अभ्यास सुरु गरेको छ ।
बाह्य तथा आन्तरिक पर्यटकहरु लुम्बिनीमा आउँदा अल्मलिन नपर्ने गरी नगरपालिकाभित्र पर्ने सडकहरुमा संकेत नम्बर (स्ट्रीट नम्बर) राखिएको हो । अन्तर्राष्ट्रिय दातृ संस्था युएनडीपी, नेपाल टुरिजम बोर्ड र नगरपालिकाको साझेदारीमा लुम्बिनी क्षेत्रमा ८० वटा संकेत नम्बर राखिएको छ ।
सडकमा संकेत नम्बरको उद्धाटन गर्दै लुम्बिनी सांस्कृतिक नपाका मेयर सजरुद्धिन मुसलमानले पर्यटन क्षेत्रको विकासका लागि नगरपालिका सधैं तत्पर रहेको बताए ।
मेयर मुसलमानले विदेशतिर पयर्टकहरुलाई कुन ठाउँ जाने, कहाँ बस्ने जस्ता विषयमा सजिलै जानकारी हासिल होस् भन्ने उद्देश्यले नम्बरिङ सिष्टम राखिएको र त्यसैलाई आधार मानेर यहाँ व्यवस्थापन गरिएको बताए ।
पालिकामा पर्ने ८० वटा सडकमा नम्बरिङ गर्ने काम अघि बढेको भन्दै उनले बढी मात्रामा पर्यटकहरुलाई लम्बिनीमा ल्याउन विविध रणनीतिक अभ्यास गरिँदै जाने बताए ।
नगरपालिकाकी उपमेयर कल्पना हरिजनले पर्यटकहरुले सजिलै आफ्नो गतव्य भेटाउन स्ट्रीट नम्बरिङ गरिएको बताइन् । यसले लुम्बिनीमा आउने पर्यटकहरुले समस्या नझेली अवलोकन गर्न पाउने विश्वास उनले व्यक्त गरिन् ।
पर्यटकहरुको यात्रालाई सहज बनाउन संकेत नम्बरले महत्वपूर्ण भूमिका खेल्ने युएनडीपीका सु्दीप अर्याल बताउँछन् । पहिलो साझेदारी कार्यक्रमअन्तर्गत संकेत नम्बर राखिएको र पर्यटक सूचना केन्द्र स्थापना गरिने कार्यक्रम रहेको उनले जानकारी दिए ।
रुपन्देहीको प्रमुख पर्यटकीय क्षेत्र लुम्बिनी यही नगरपालिकामा पर्छ ।