घनश्यामको विश्लेषण- ओलीले एमालेलाई नरकतर्फ लतार्दैछन्, माओवादीबाट आश गर्न सकिँदैन – Nepal Press

घनश्यामको विश्लेषण- ओलीले एमालेलाई नरकतर्फ लतार्दैछन्, माओवादीबाट आश गर्न सकिँदैन

‘शेरबहादुर देउवा र कांग्रेसका नेताहरुले समाजवाद ल्याएर देखाउँछौं भनेको सुन्नुभएको छ ?’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादीले माओवाद नत्यागेसम्म कुनै आश गर्ने ठाउँ नभएको बताएका छन् ।

दाङमा आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै उनले माओवादी क्रान्तिको ठूलै कुरा गरेर आएको भए पनि आश गर्न नसकिने बताए ।

उनले भने, ‘माओवादीको विरासतका कारणले, खास गरी सिद्धान्तका कारणले हामीले समृद्ध र समाजवादी नेपाल बनाउनुपर्नेछ । उसले जनवादी क्रान्तिको माओवादी सिद्धान्त बोकेर हिँडेको छ । माओवादीले जहिलेसम्म माओवाद छोड्दैन, तबसम्म उसबाट आश गर्न सकिँदैन ।’

उनले एमालेमा ओली भएसम्म सत्ता र दक्षिणपन्थ नछाड्ने टिप्पणी गरे ।

महासचिव भुसालले भने, ‘संविधान बनिसकेपछि मुलुक अगाडि जाँदै थियो । जनतामा विश्वास बढ्दै थियो । हामीले संविधान बोक्नसक्ने पार्टी बनाएका थियौं । लोकतान्त्रिक पार्टीभित्र एउटा धुन्धकारी जन्मियो, केपी ओली नामको । त्यो धुन्धकारीले संसद, संविधान हुँदै लोकतन्त्रमाथि हान्दै थियो । त्यसलाई रोक्न हामीले ठूलो हिम्मत गरेर ओलीलाई सत्ताबाट झारेर संविधानको रक्षा गर्‍यौं । ओलीले एमालेको नेतृत्व गरेसम्म एमालेलाई नरकतर्फ लतार्दैछन्, दक्षिणपन्थतर्फ लतार्नेछन् । सत्तालिप्साको वरिपरि लैजानेछन् ।’

उनले कांग्रेसलाई समाजवाद आइसकेको बताए । ‘कांग्रेसलाई केही चाहिँदैन १८ वर्षकाले भोट दिने हो, बजारले राज गर्ने हो । विकास उद्योगपति, पूँजीपतिले गर्छ । उसको सिद्धान्त नै त्यही हो । तपाईंहरुले शेरबहादुर देउवा र कांग्रेसका नेताहरुले समाजवाद ल्याएर देखाउँछौं भनेको सुन्नुभएको छ ?’, भुसालले भने ।

उनले समाजवाद ल्याउन सक्ने पार्टी भनेको एकीकृत समाजवादी मात्रै भएकाले त्यही सन्देश लिएर अहिले जनताकहाँ आएको सुनाए ।


प्रतिक्रिया

2 thoughts on “घनश्यामको विश्लेषण- ओलीले एमालेलाई नरकतर्फ लतार्दैछन्, माओवादीबाट आश गर्न सकिँदैन

  1. दक्षिणपन्थीको भरियाले अरूलाई दक्षिणपन्थी देख्छ नै!

  2. बिचराको बुद्धि ! एमालेको सन्तान भइटोपलेको यही व्यक्ति पराइलाई ल्याएर घरको ईटा घनले धुजाधुजा पार्‍यो । अनि सबै लाग्दा पनि जसले अहिले फलाम जस्तै बनाएर हिडेको छ उसैले नरकतिर लगेको । यस्ता काइतेलाई नेता बनाउनु नै त्यतिखेरका एमनलेजनको बरु गल्ती हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर