स्थानीय तहका कर्मचारीको आन्दोलनमा प्रहरी दमनप्रति निजामती ट्रेड युनियनहरूको विरोध
घाइतेहरूको निःशुल्क उपचार सँगै माग पूरा गर्न सरकारलाई दबाब


काठमाडौं । स्थानीय तहमा कार्यरत कर्मचारीहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै निजामती क्षेत्रका राष्ट्रिय ट्रेड युनियनहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
काठमाडौं केन्द्रित शान्तिपूर्ण आन्दोलन जारी रहे पनि कर्मचारीहरूमाथि प्रहरी हस्तक्षेप गरी निर्ममतापूर्वक लखेटी लखेटी कुटपिट गरिएको घटनाले दुःखी बनाएको युनियनहरूले विज्ञप्ति मार्फत जनाएका छन् ।
विभिन्न ५ वटा युनियनहरूले घटनाको निन्दा र भर्त्सना गर्दै घाइते कर्मचारीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
संघीय संसदमा पेश गर्ने भनिएको विधेयक सरोकारवालासँग पर्याप्त छलफल सुझाव संकलन गर्दै आएकोमा त्यसो नभएको भन्दै विरोध भइरहेको छ ।
समयमै ऐन जारी नहुँदा विभिन्न क्षेत्रमा गम्भीर असर र प्रभाव पर्न थालेकोतर्फ पनि युनियनहरूले ध्यानाकर्षण गराएका छन् ।
समस्याको समाधान आन्दोलनमाथि दमन नभएर वैधानिक बाटोबाट खोज्नुपर्ने उनीहरूको माग छ ।
विज्ञप्तिमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल निजामती कर्मचारी युनियनका गोपाल प्रसाद पोखरेलले हस्ताक्ष्ँ गरेका छन् ।
यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठनका अम्बादत्त भट्ट, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका गगनसिंह विष्ट र नेपाल मधेशी निजामती कर्मचारी मञ्चका उपाध्यक्ष विजयकुमार सिंहले हस्ताक्षर गरेका छन् ।