यस्तो बन्यो एमालेको आठौं प्रदेश कमिटी, अध्यक्ष ओलीको चाहनाबमोजिम सबै पदमा सर्वसम्मत (सूचीसहित)


काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीले सर्वसम्मत नेतृत्व चयन गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहना बमोजिम सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो।
ओलीको चाहना बमोजिम कमिटीको अध्यक्षमा प्रेम पराजुली निर्विरोध चयन भएको छ। पराजुलीलाई पोलिटब्युरो सदस्य तथा पेशागत जिल्ला कमिटी इन्चार्ज सुजिता शाक्यलगायतको जोडबलमा उम्मेदवार बनाइएको थियो।
कमिटीको उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलनराज धरेल,उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएका छन्। ओलीले सबै प्रदेश कमिटीको नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास गरेपनि कहिँ सफल हुन सकेका थिएनन्।
यसअघि अधिवेशन भएको लुम्बिनी, बागमती, गण्डकी, कोशी, कणाली प्रदेशको नेतृत्व चयनमा निर्वाचन नै भएको थियो। सुदुरपश्चिममा पनि निर्वाचनतिर धकेलिने सम्भावना बढ्दै गएको छ।
प्रदेशहरुमा सर्वसम्मतको प्रयास सफल नभएपछि ओली आठौं प्रदेशमा सफल भएका हुन्। ओलीले अधिवेशनको उद्घाटन गर्दै भनेका थिए, ‘म आग्रह गर्छु यसपटक नयाँ अभ्यास गर्नुस्। यहाँ जितेर पनि केके न ठूलो कुरा पाइने होइन। सबैले जित्ने होइन। हारेपछि मन दुख्छ। मैले साथीहरूलाई हेरेको छु।’