कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य, निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित


सुर्खेत । कर्णाली प्रदेश सभाले निजामती कर्मचारी विधेयक सर्वसम्मत रूपले पारित गरेको छ । सोमबार बसेको प्रदेश सभाको बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।
बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कृष्णबहादुर जिसीले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १२८ को उपनियम २ को खण्ड ‘क’ बमोजिम प्रदेश मामिला समितिको प्रतिवेदन सहितको विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
यस्तै, कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य भएको छ । सोमबार राती १२ बजेदेखि लागू हुनेगरी चालू अधिवेशन अन्त्य भएको हो । कुल ५४ घण्टा बसेको अधिवेशनले दुई वटा मात्रै (कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक) बनाएको छ । यी दुबै विधेयक संसदबाट सर्वसम्मत रुपमा पास भएका छन् ।
साथै, कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बेनको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको र कर्णाली प्रदेशको विधुत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक थप छलफलका लागि विषयगत समितिमा पठाएको छ ।
प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनमा कुल ३९ बैठक बसेको सभामुख नन्द गुरुङ्गले जानकारी दिइन् । दोस्रो अधिवेशन गत जेठ १० गतेदेखि सुरु भएको थियो । कुल ५४ घण्टा बसेको अधिवेशनमध्ये सबैभन्दा लामो २३ औंँ बैठक ३ घण्टा ३५ मिनेट र सबैभन्दा छोटो ३८ औं बैठक ७ मिनेट २३ सेकेन्ड बसेको थियो ।