प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा के भयो ?


काठमाडौं । इजरायलमा जारी युद्धका कारण समस्यामा परेका नेपालीहरुबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक सम्पन्न भएको छ । बैठकले कुनै पनि ठोस निर्णय भने गरेन ।
बैठकमा सहभागी दलीय प्रतिनिधिहरुले इजरायलमा नेपालीहरुलाई सुरक्षित स्थानमा राख्ने वा नेपाल फर्काउनुपर्नेमा जोड दिएका थिए । सुरुमा प्रधानमन्त्री प्रचण्डले बैठक राख्नुको कारण र सरकारले गरेका कामहरुबारे ब्रिफिङ गरे । इजरायल संकटबारे सबै पार्टीको साझा धारणा बनाउनका लागि आफूले बैठक राखेको उनले बताएका थिए ।
प्रधानमन्त्रीपछि दलका नेताहरुले आआफ्नो भनाइ राखेका थिए । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले सन्तुलित र समन्वयकारी भूमिका खेल्न नसकेको बताए । उनले बंकरमा रहेका नेपालीहरुलाई तत्काल उद्दार गर्न आग्रह गरे ।
अन्य नेताहरुले पनि आपत्मा परेकाहरुलाई सुरक्षित ठाउँमा राख्न तथा शव चाँडो झिकाउने विषयमा सरकारलाई अग्रसरता लिन सुझाव दिएका थिए । कांग्रेस सचेतक रमेश लेखकले भने, ‘राष्ट्रिय पिडाको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो ।’
कसरी अगाडि बढ्ने त ? भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘मुलत बंकरमा रहेकाहरुलाई उद्दार गर्ने र मृत्यु भएकाहरुको शव यथासिघ्र चाँडो झिकाएर परिवारलाई पुर्याउने विषयमा छलफल भयो । नेपालीहरु यदि देशभित्र फर्किन चाहन्छन् भने फर्काउने र त्यही बस्न चाहनेलाई सुरक्षाको प्रत्याभूति गराउनुपर्नेमा जोड दिइयो ।’