एमाले रोहिणी गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहितका नेता कार्यकर्ता नेकपा एसमा प्रवेश


रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाबाट नेकपा एमालेका अध्यक्ष, उपाध्यक्षसहितका ६५ जना नेता कार्यकर्ता नेकपा एसमा प्रवेश गरेका छन् ।
गाउँ कमिटी अध्यक्ष सुनिल कौशल, उपाध्यक्ष दिलीपमणि त्रिपाठी, ४ र ५ नं वडा कमिटीका अध्यक्षसहितको टोली नेकपा एसमा प्रवेश गरेको हो ।
कौशलसहितका टीमलाई नेकपा एसका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले टीका लगाएर स्वागत गरे ।
नेकपा एसले रोहिणीको सिंगो गाउँ कमिटी आफ्नो पार्टीमा समाहित भएको दाबी गरे पनि एमालेले खण्डन गरेको छ । सो पालिकाका एमाले प्रदेश कमिटी सदस्य सञ्जय गुप्ताले गाउँ कमिटीमा ४९ जना रहेकोमा असन्तुष्ट अध्यक्ष, उपाध्यक्ष ४ नं वडाध्यक्षसहित केही कार्यकर्ता मात्रै गएकोमा पूरै गाउँ कमिटी भनेर गलत प्रचार गरिएको बताए ।
केही समयअघि एमाले लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा भएको प्रतिनिधि छनौटमा उनीहरू असन्तुष्ट रहेको उनले बताए ।
आइतबार एसमा प्रवेश गर्नेहरू स्थानीय तहको निर्वाचनअघि लोसपाबाट एमालेमा आएका थिए ।