पूर्व प्रधानमन्त्री झलनाथ खनालको विश्लेषण : २०७४ सालमा दुई तिहाइ पाउँदा जनमतको कदर भएन
तीनै तहका सरकारले जनताले अनुभूत हुने काम गर्न सकेनन्


रुपन्देही । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले २०७४ मा कम्युनिष्ट पार्टीको दुई तिहाइको सरकारबाट जनताले धेरै अपेक्षा गरे पनि गलत नेतृत्वका कारण मुलुक पुनः संकटमा परेको बताएका छन् ।
आइतबार रुपन्देहीको भैरहवामा समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले अहिलेका तीन तहका सरकारले जनताले अनुभूत हुनेखालका काम गर्न नसकेको बताए ।
अहिलेको व्यवस्थाले आम नागरिकलाई भन्दा बढी बिचौलिया, दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको उनको आरोप छ ।
व्यवस्था फेरिए पनि त्यो व्यवस्थाअनुसार जनताको जीवनस्तर र अवस्था नफेरिएको बताउँदै समाजवादमा जाने कि पुँजीवादमै रहने भन्ने विषयमा व्यापक बहस चलाउनुपर्ने नेता खनालले बताए ।
नेता खनालले भने ‘यो व्यवस्थामा कुनै सरकारले काम गर्न सक्दैन’, उनले भने, ‘यसैले व्यापक सुदृढीकरण जरुरी छ । यसैले हामीले नयाँ योजनासाथ अभियान चलाएका छौँ ।’
मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक संकट गहिरिँदै गएको उल्लेख गर्दै नेता खनालले समाजवादी यात्राले जनतामा बढ्दो निराशालाई कम गर्न मद्दत गरेको बताए ।
मुलुकमा बेरोजगारी व्याप्त रहेको, रोजगारी नहुँदा युवाशक्तिहरु विदेश पलायन भइरहेको जनाउँदै युवाशक्तिहरु खाडीलगायतका मुलुकमा पलायन हुनु मुलुकका लागि ठीक नभएको बताए ।
उनले यही अवस्था रहे देश युवाविहीन हुने खतरा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । ‘युवालाई मुलुकमै टिकाउन जरुरी छ, यसका लागि रोजगारी वृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास जरुरी छ’, उनले भने ।
उनले मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै यसले समाजवादतर्फ जान मद्दत गर्ने जनाए ।
यस्तै, नेता खनालले नेपालमा नयाँ ढङ्गको ध्रुवीकरणको आवश्यकता रहेको समेत बताए । वर्तमान पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको उल्लेख गर्दै उनले समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरण आवश्यकता रहेकोमा जोड दिए ।
‘समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्टहरू एक हुनुपर्ने हुन्छ’, उनले भने, ‘यसका लागि नयाँ ध्रुवीकरण जरुरी छ ।’
समाजवादी पार्टीका उपमहासचिव एवं प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जनताका प्रत्यक्ष भोगाइलाई लिएर मेची महाकाली यात्रामा निस्किएको बताए । उनले असोज १४ बाट शुरु भएको यात्रा भैरहवासम्म आउँदा झण्डै ५ हजार बढी स्वतन्त्र नागरिक र विभिन्न पार्टी छाडेर समाजवादी प्रवेश गरेको बताए ।
यात्राका क्रममा आफूहरूले जनतालाई आश्वस्त पार्ने गरी रोजगारी सिर्जना, कृषिमा आधुनिकीकरण, व्यवसायीकरण लगायतका विषयमा आवाज बुलन्द गरेको र यी पूरा गर्न सरकारलाई दबाब दिने बताए ।
नेता खतिवडाले समृद्धिका लागि रोजगारी र रोजगारीका लागि कृषि सँगसँगै लैजानु पर्नेमा जोड दिए । समाजवादी जागरणको मेची–महाकाली यात्रा असोज २९ मा महेन्द्रनगर पुगेर समापन हुनेछ ।
त्येशको कारक को !?
उतर : तिमीहरु, ५- ७ हुंडारहरु !!