नेपालगन्जमा घटाइयो कर्फ्यु र निषेधाज्ञाको समय
रूपन्देही ।मंगलबारदेखि बाँकेको नेपालगञ्जमा जारी कर्फ्यु र निषेधज्ञाको समयसीमा घटाइएको छ । हिन्दु र मुस्लिम समुदायबीच विवाद बढ्दै गएपछि हिंसात्मक गतिविधि रोक्न दिनमा ५ दिनअघिदेखि लगाइएको कर्फ्युको समय घटाइएको हो ।
अहिले दिनमा निषेधाज्ञा र रातमा कर्फ्यु लगाउँदै आएको जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबारबाट कर्फ्यु र निषेधाज्ञाको समयसीमा घटाएपछि केही सहज हुने अनुमान गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जारी गरेको पछिल्लो सूचनाअनुसार शनिबार बिहान ९ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा जारी रहनेछ भने राती ९ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु जारी रहने छ । यसअघि बिहान ८ बजेदेखि नै निषेधाज्ञा सुरु हुन्थ्यो भने कर्फ्यु बिहान ६ बजेसम्म लगाउँदै आइएको थियो ।
पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँमा ५ जना भन्दा बढी मानिसहरू जम्मा हुन पाउने छैनन् ।
चाडपर्वको मुखमा नेपालगन्जमा भएको यो विवादले स्थानीय सन्तुष्ट छैनन् । स्थानीय व्यवसायीले व्यापार हुने चाडपर्वको समयमा बढेको द्वन्द्वले मर्कामा परेको भन्दै छिटोभन्दा छिटो समाधान खोज्न अनुरोध गरिरहेका छन् । तीन दिनअघि सर्वपक्षीय बैठक बसेर कर्फ्यु हटाउने सहमति गरिए पनि विवाद नघटेपछि रोकिएको छैन ।