माधव नेपालको आइडिया- नेपालको पानी बेचेर समृद्धि हासिल गर्न सकिन्छ


हेटौंडा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पानी बेचेर देशको समृद्धि हासिल गर्न सकिने बताएका छन् ।
पार्टीको मेचीमहाकाली अभियानअन्तर्गत आज हेटौंडामा आयोजित कोणसभामा उनले खाडीका केही मुलुक तेल बेचेर धनी बनेको र नेपालले पानीलाई अन्तर्राष्ट्रिय बजारमा बेचेर समृद्धि हासिल गर्न सकिने बताए ।
नेपाललाई आर्थिक रूपमा बलियो बनाउन पानी तथा पर्यटनको महत्त्वपूर्ण भूमिका हुने भन्दै उनले अब देशले पर्यटन उद्योगमा लगानी गर्नुपर्नेमा जोड दिए ।
नेपालले भने, ‘हाम्रो देशमा चितवनदेखि कोशीटप्पु, पशुपतिदेखि मुक्तिनाथसम्मका थुप्रै पर्यटनका क्षेत्रहरू छ्न् । त्यसलाई उपयोग गरेर र्थिक समृद्धि हासिल गर्न सक्छौं ।’
छोटकरीमा बोलेका उनले राजनीति विषय त्यति उप्काएनन् । आफ्नो पार्टी देशको हितको लागि स्थापना भएको भन्दै सबै मिलेर त्यसका लागि काम गर्नुपर्ने उनको भनाइ थियो । राणाकालबाट हालसम्म नेपालमा कम्युनिष्टहरूले राम्रो भूमिका निर्वाह गरेको र कम्युनिष्ट शासनताका जनताले सम्झिने काम गरेको उनले जिकिर गरे ।