बौद्ध दर्शन र लुम्बिनीको विकासका लागि विकास कोष र विश्वविद्यालयलाई सहकार्य आह्वान – Nepal Press

बौद्ध दर्शन र लुम्बिनीको विकासका लागि विकास कोष र विश्वविद्यालयलाई सहकार्य आह्वान

रुपन्देही । बौद्ध दर्शन, शिक्षा र लुम्बिनीको विकासका लागि लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयले सहकार्य गरेर अगाडि बढ्न दुवै संस्थामा आवद्ध व्यक्तिहरुले सुझाएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले बिहीबार विकास कोषका उपाध्यक्ष डा.ल्याहरक्याल लामालाई स्वागतमा आयोजना गरिएको कार्यक्रममा बोल्दै दुवै संस्थाका पदाधिकारीहरुले दुई संस्था एकसाथ अघि बढ्नुपर्ने बताए ।

सो अवसरमा बोल्दै विकास कोषका उपाध्यक्ष लामाले बौद्ध दर्शन र शिक्षाको विकासले नै पर्यटक भित्र्याउन सकिने भन्दै विश्वविद्यालयको उन्नतीमा विकास कोषले अग्रणी भएर काम गर्ने बताए । विकास कोषकै अग्रसरतामा विश्वविद्यालय स्थापना भएको भन्दै यसको विकास गर्ने दायित्व पनि कोषकै रहेको बताए ।

‘लुम्बिनीमा शैक्षिक तथा धार्मिक पर्यटक भित्र्याउनका लागि दुई संस्थाले मिलेर काम गर्नुपर्ने बताए । ‘विकास कोषले बजेट छुट्याएर विश्वविद्यालयको विकासमा काम गर्नेछ’, उनले भने । गुरुयोजना निर्माण सकिएपछि विकास कोषका आम्दानी विश्वविद्यालयमा लगानी हुने भन्दै अहिलेबाट नै बौद्ध शिक्षाको विकासमा कोषले काम गर्ने बताए ।

सो अवसरमा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यले विकास कोष अभिभावक भएर विश्वविद्यालयको विकासमा काम गर्ने विश्वास व्यक्त गरे । विश्वविद्यालयको विकासका लागि बोर्ड अफ ट्रष्टी निर्माणको प्रक्रिया अघि बढाइएको भन्दै उनले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा विकास गरिने बताए ।

बौद्ध शिक्षाको विकासका लागि विदेशी राष्ट्रहरुबाट सहयोग लिइने उनले बताए । शैक्षिक विकासमा विकास कोषको अभिभावकत्व र संरक्षण आवश्यक रहेको उनले बताए ।

त्यस्तै विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले विकास कोषले विश्वविद्यालय स्थापनामा अग्रणी भूमिका निभए पनि पछिल्ला दिनहरुमा निष्कृय रहेको भन्दै चिन्ता व्यक्त गरे । विश्वविद्यालयको विकासका लागि विकास कोषले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । भोट बौद्ध अध्ययन तथा आर्काेलोजी जस्ता विषयहरु सञ्चालनमा विकास कोषको सहयोग हुनुपर्ने उनले बताए ।

विकास कोषको आम्दानीको ५ प्रतिशत रकम विश्वविद्यालयलाई दिने गरी परिषद्बाट निर्णय भएको स्मरण गराउदै उनले त्यसको कार्यान्वयन गर्न उपाध्यक्ष लामालाई आग्रह गरे । उनले विश्वविद्यालयको सभामा कोषको पदेन सदस्य रहेको र कोषका परिषद्मा पनि विश्वविद्यालयको प्रतिनिधित्व गराउदै दुई संस्थालाई जोड्दै जानुपर्ने बताए ।

‘कार्यक्रममा आर्काेलोजी विभागका प्रमुख प्राध्यापक बसन्त विडारीले बुद्ध जन्मस्थल आध्यात्मिक हुन नसकिरहेको भन्दै चिन्ता व्यक्त गरे । ‘लुम्बिनी जस्तो हुनुपथ्र्याे, त्यस्तो हुन सकिरहेको छैन’, उनले भने ।

त्यस्तै, भोट भाषा विभागका प्रमुख डा. ङिमा शेर्पाले भोट बौद्ध अध्ययन गर्ने विद्यार्थीहरुलाई शिक्षाको मुलधारमा ल्याउनका लागि विकास कोषले लगानी गर्नुपर्ने बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यको अध्यक्षता तथा शाखा अधिकृत चुरामणि पोखरेलेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारीहरु, भिक्षु, लामा आनीहरुको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर