विप्लव नेतृत्वको नेकपाले जिल्लास्तरमा हिउँदेबाली लगाउने


रुपन्देही । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पूर्वी लुम्बिनी ब्यूरोले उत्पादनलाई प्राथमिकता दिने पार्टी केन्द्रीय नीतिअनुसार प्रत्येक जिल्लाले हिउँदेबाली अनिवार्य लगाउने निर्णय गरेको छ । बिहीबार बुटवलमा बसेको पूर्ण बैठकले पार्टीको नीति अनुसार यसलाई प्राथमिकता दिने निर्णय गरेको हो ।
सो पार्टीले कपिलवस्तुमा आफ्नो जग्गा किनेर कृषि क्षेत्र बनाएर खेती संचालन गरेको छ । बिहीबारको बैठकले एमसीसी र राष्ट्रियताका विषयमा कार्यकर्तासँग थप छलफल गर्ने निर्णय गरेको छ ।
आगामी शनिबार भैरहवामा कार्यपत्रसहित ‘एमसीसी र राष्ट्रियता’ विषयक अन्तरक्रिया गर्ने, समाजवादी मोर्चाको केन्द्रीय नीतिअनुसार व्युरोका जिल्लाहरु रुपन्देही, पाल्पा, गुल्मी, नवपुर र नवलरासीमा जिल्ला समिति गठन गरी निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, जनताको जनतन्त्र र जनजीविका विषयमा आन्दोलनलाई निरन्तरता दिने, प्राकृतिक प्रकोपहरुमा पार्टीले जनतासित सहकार्य गर्दै उद्दार तथा जनसेवामा लाग्ने, नजिकिदै गरेको चाडपर्वको बेला हुने कृतिम महंगी, तस्करी, चोरी डकैती रोक्नेलाई रोक्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गर्ने र चाडपर्वलाई भड्किलो र तडकभडक नगरी सरलीकृत गर्न पहल गर्ने, सामाजिक सद्भाव तथा जनस्तरमा सामाजिक एकता कायम गर्न प्रयत्न गर्ने निर्णय सो पार्टीले गरेको छ ।
पार्टीको पोलिटब्युरो सदस्य एवं व्युरो इन्चार्ज बसन्त सीको अध्यक्षतामा भएके बैठकमा स्थायी समिति सदस्य अनिल सी, केन्द्रीय सल्लाहकार जितबहादुर सी, पिबिएम विनोद सी, केन्द्रीय सदस्यहरु शरद सी, कलम सी, धीरज सीलगायतले धारणा राखेका थिए ।