प्रचण्डको पत्रबारे बाबुरामको निष्कर्ष- त्यो आधिकारिक होइन, माओवादीका साथीहरुमा परिपक्वता देखिएन – Nepal Press

प्रचण्डको पत्रबारे बाबुरामको निष्कर्ष- त्यो आधिकारिक होइन, माओवादीका साथीहरुमा परिपक्वता देखिएन

काठमाडौं । नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रले अध्यक्ष डा. बाबुराम भट्टराईलाई बाइपास गरेर अर्का अध्यक्ष महेन्द्र यादवलाई पठाएको एकता प्रस्तावको पत्रको अर्थ नभएको निष्कर्ष निकालेको छ ।

दुई दिनसम्म चलेको नेसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले त्यो पत्रबारे खासै चर्चा गर्न आवश्यक नभएको निष्कर्ष निकालेको नेसपा कार्यालय सचिवसमेत रहेका बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरलले बताए ।

उनले भने, ‘माओवादीले पठाएको पत्रमा खासै चर्चाको विषय बनाउनु पर्दैन । त्यो गलत थियो । अध्यक्षज्यूले पनि माओवादीका साथीहरुमा परिपक्वता देखिएन, विधि, प्रक्रियाभन्दा बाहिरबाट आएको छ भन्नुभयो ।’

पोखरेलले पार्टी एकताको लागि संवाद समितिको तर्फबाट ९ बुँदे प्रस्ताव यसअघि नै पठाएको भए पनि माओवादीले अपरिपक्वता देखाएको बताए ।

उनले भने, ‘विचार, राजनीतिक, संगठनसहित रुपान्तरित भएर हामीले एकता गर्ने भनेको हो । हामीले सबै परित्याग गरेर नयाँ आधारमा एकता गरौं भनेको हो । त्यो पत्र हेर्दा अहिले माओवादीमै आउ, महाधिवेशनबाट न्याय गर्न सक्छौं भन्ने भाषा प्रयोग गरेको छ । त्यो भनिराख्नु पर्दैन । त्यो बेतुकको शब्द प्रयोग गरेर पठाइएको छ । त्यो पार्टीलाई आधिकारिक जानकारी छैन । त्यो कुनै पत्र हैन । त्यसैले त्यसबारे छलफल गर्न आवश्यक छैन । पार्टीको एक ठाउँमा उभिएर त्यो निष्कर्ष निकालेका हौं ।’

बैठकमा साउनदेखि पुससम्मको ६ महिने अभियानको सबै प्रदेशबाट रिपोर्टिङ गर्ने क्रममा नेताहरुले माओवादीले पठाएको पत्रबारे प्रश्न उठाएका थिए । त्यो पत्रको विषयमा अध्यक्ष भट्टराई र यादव, सहअध्यक्ष गंगानारयण श्रेष्ठले पनि ब्रिफिङ गरेका थिए ।

अध्यक्ष भट्टराईले नामको विषयलाई लिएर पार्टी एकताको लागि तयार नभएपछि माओवादीले रणनीतिक रुपमा अर्का अध्यक्ष यादवलाई सम्बोधन गरेर पत्र पठाएको थियो । यादव खेमाका नेताहरु माओवादीसँग एकता गर्ने पक्षमा रहेपछि बाबुराम माओवादीसँग दूरी बढाउँदै गइरहेका छन् ।

बैठकले माओवादीसँग एकता गर्नेभन्दा पनि पार्टी निर्माण, संगठन विस्तारको अभियानलाई तीव्रता दिँदै महाधिवेशन केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको छ ।

उनले भने, ‘महाधिवेशनको मिति तोकिएको छैन । ६ महिनाभित्र गर्ने भन्ने छ । अहिले पनि पदाधिकारी बैठक जारी भएकाले बेलुकासम्म मिति तोकिनसक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर