वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने मेडिकलको नविकरण अब ३ वर्षमा हुने – Nepal Press

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने मेडिकलको नविकरण अब ३ वर्षमा हुने

श्रम मन्त्रालयद्वारा कार्यविधि संशोधन, सरकारको निर्णयबाट व्यवसायीलाई राहत भएको स्वास्थ्य व्यवसायी महासंघको प्रतिक्रिया

काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले स्वास्थ्य मापदण्ड कार्यविधि संशोधन गर्दै वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको नविकरणलाई सहज बनाएको छ ।

मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वस्थ्य संस्था सुचीकरण,नविकरण तथा अनुगमन सम्बन्धी कार्य विधी,२०७२ चौथो संशोधन भएको जनाएको छ । सो संशोधनअनुसार वैदेशिक रोजगारमा जाने नेपालीहरुको स्वास्थ्य परीक्षण गर्ने मेडिकलहरुको नविकरण अब प्रत्येक ३ वर्षमा हुनेछ ।

यसअघि स्वास्थ्य मन्त्रालयमा हरेक ३ वर्षमा संस्था नविकरण गर्ने व्यवस्था रहे पनि श्रम तथा रोजगार मन्त्रालयमा भने प्रत्येक वर्षको पुस मसान्तमा नविकरण गर्नुपर्ने व्यवस्था थियो । यो व्यवस्था झण्झटिलो र व्यवसायीलाई सास्ती दिनेखालको भएको भन्दै संशोधनको माग भइरहेको थियो ।

श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीले स्वास्थ्य संस्थाहरुको सन्चालन निर्देशिका तथा नविकरणमा एकरुपता ल्याउँन संशोधन गरिएको बताए । उनले यसबाट व्यवसायी,सर्वसाधारणलाई सहज भएको र मन्त्रालयको काममा पनि सजिलो हुने बताए ।

मन्त्रालयमा वैदेशिक रोजगार व्यवसायमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न आधिकारिकरुपमा अनुमति पाएका २१५ वटा मेडिकल छन् । यसैबीच स्वास्थ्य व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष महेशराज श्रेष्ठले सरकारले संस्था नविकरणमा एकरुपता ल्याउँन गरेको निर्णय स्वागतयोग्य रहेको बताए ।

नेपाल प्रेससँग कुरा गर्दै श्रेष्ठले भने- स्वास्थ्य मन्त्रालयमा हामीले तीन वर्षमा संस्था नविकरण गर्छौं ।  श्रममा प्रत्येक पुस मसान्तभित्रमा गर्नैपर्ने व्यवस्थाले झण्झट थियो, पछिल्लो संशोधनले व्यवसायीलाई सहज भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर