चीनसँगको मित्रताबाट लाभ लिने गरी योजना बनाउन सरोकारवालाको आग्रह
चीनबाट अपेक्षित सहयोग लिन किन चुक्यौँ : प्रदेश प्रमुख शेरचन


रुपन्देही । अर्थतन्त्रमा विश्वकै अग्रणी छिमेकी मुलुक चीनबाट नेपालले अपेक्षित लाभ लिन नसकेको सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
सरकारको आफ्नै कमजोरीका कारण अपेक्षाकृत सहयोग र लाभ लिन चुकेको भन्दै उनीहरूले तत्काल यो विषयमा ध्यान दिन आग्रह गरेका हुन् ।
शनिवार बुटवलमा चीनको ७४औँ राष्ट्रिय दिवसको अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
उनीहरूले चीनले नेपालको औद्योगिक विकासका लागि स्थापना गरिदिएका उद्योगहरू राम्ररी चलाउन नसकेर बन्द गर्नु, नेपालको राजनीति सधैँ अस्थिर भइरहनु, परराष्ट्र नीति सन्तुलित र विश्वसनीय बनाउन नसक्दा सबैभन्दा नजिकको छिमेकी चीनबाट आर्थिक सहयोग र लगानी भित्राउन नसकेको टिप्पणी गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालको छिमेकी मुलुक चीनबाट नेपालले अपेक्षाकृत लाभ लिन चुकेको बताएका छन् ।
शेरचनले चीन नेपालको असल र सहयोगी छिमेकी भए पनि नेपालको आफ्नै कमजोरीका कारण अपेक्षाकृत लाभ लिन नसकिएको औँल्याए ।
नेपालको निरन्तरको राजनीतिक अस्थिरता र नेपालका प्रधानमन्त्रीहरूको चीन भ्रमणका क्रममा धेरै क्षेत्रमा सहमति गर्ने तर कार्यान्वयन पक्ष कमजोर हुँदा चीनको विश्वास जित्न नसक्दा सोचे अनुसार सहयोग र लगानी भित्राउन नसकिएको शेरचनले बताए ।
‘२००७ सालयता पञ्चायत, बहुदल र गणतन्त्र गरी सबै व्यवस्थामा कुनै सरकार पाँच वर्ष स्थिर हुन नसक्दा चीनलाई विश्वासमा लिन सकिएन’–शेरचनले भने–‘अब धेरै क्षेत्रमा सहयोग माग्नु भन्दा नेपालको व्यापार घाटाको मुख्य कारण बनेको इन्धन आयात घटाउन विद्युतीय सवारी साधन नेपालमै उत्पादन वा एसेम्बल र नेपालका सबै खाले प्राकृतिक स्रोत साधनको भरपुर सदुपयोगमा चीनसँग सहकार्य गर्ने विषयमा केन्द्रित हुन आवश्यक छ ।’
माओत्सेतुङले नयाँ चीन स्थापना गर्नुअघि चीनको आर्थिक अवस्था नेपालको भन्दा खराब रहेको तर चिनियाँ नागरिकको अथक मेहनत र अनुशासनले अहिले विश्वकै शक्तिशाली अर्थतन्त्र भएको देश बनेको शेरचनले उल्लेख गरे ।
नेपालले एक चीन नीतिलाई कडाइका साथ पालना गर्नुपर्ने भन्दै शेरचनले अहिलेको आर्थिक संकटबाट मुक्ति पाउन चीनको सहयोग लिन सरकार र दलहरूको ध्यान जानुपर्ने शेरचनले सुझाए ।
नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटाले चीनसँग सरकारी तह र जनस्तरमा पनि सम्बन्ध विस्तार गरी नेपालमा चिनिया लगानी भित्राउन र १५ करोड चिनियाँ बौद्धमार्गीलाई बुद्ध जन्मस्थल लुम्बिनीमा आकर्षित गर्न समाजले सरोकारवाला निकायसँग सहकार्य गरिरहेको बताए ।
कार्यक्रममा लुम्बिनीस्थित चिनियाँ बिहारका भिक्षु, लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्ट्रार तिलक आचार्य, प्रा.डा. कपिलदेव लामिछाने, डा. ऋषिराम शर्मा, डा. सागर न्यौपाने, उद्योगीहरू उज्ज्वल कसजू, एजाज आलम, टंक पोखरेल, प्राज्ञ बुंद राना लगायतले चीनको राष्ट्रिय दिवसमा एक साता लामो बिदा हुने भएको त्यो अवधिमा चिनियाँ पर्यटकलाई नेपाल भित्राउन विशेष योजना र प्याकेज ल्याउन सरकारसमक्ष अनुरोध गरेका थिए ।