नेकपा एसले मेची-काली ‘समाजवादी जागरण अभियान’मार्फत् के सन्देश दिन चाहन्छ ?


काठमाडौं । नेकपा एकीकृत समाजवादीले मेची–काली ‘समाजवादी जागरण अभियान’ को लागि काठमाडौंबाट झापाको काँकडभिट्टातर्फ जाने टोलीलाई पार्टी केन्द्रीय कार्यालयबाट बिदाइ गरेको छ । अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरुले अभियान सुरु गर्ने टोलीलाई आज बिदाइ गरेका हुन् ।
असोज १४ देखि २९ गतेसम्म हुने अभियान झापाको काँकडभिट्टाको मेची नदी किनारबाट अध्यक्ष नेपालले सुरु गर्ने तय भएको छ । नेकपा एसले अभियानमार्फत् विभिन्न जिल्लाहरुमा पार्टीका विभिन्न तह र तप्काका कमिटीहरुसँग छलफल र जनताको कुरा सुन्ने लक्ष्य बनाएको छ ।
एमालेबाट विद्रोह गरेर पहिलो पटक महाधिवेशन गर्न लागेको नेकपा एसले जनताको सुझावअनुरुप अघि बढ्न महाधिवेशनअघि अभियान सञ्चालन गर्न लागेको हो । अभियानमा जनतासँग प्रत्यक्ष जोडिएको कृषि उत्पादन, व्यवसायिक सीप र क्षमता अभिवृद्धि गरी स्वरोजगार सिर्जना, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषय जनताको मौलिक अधिकारका रूपमा स्थापित गर्न, जनशक्ति पलायन बन्द गरी सबैलाई रोजगारीमा समावेश गर्न तथा युवालाई समाजवादी क्रान्तिका लागि तयार गर्नेबारे सुझाव लिइनेछ ।
समृद्ध नेपाल निर्माण गर्न अभियान तय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले बताए । उनले भने, समाजवादी जागरण अभियानको नाममा हामी जनताको घरदैलोमा पुग्नेछौं र जनताको दुःखसुखमा साथ दिनेछौं ।’
भूमिहीन तथा अव्यवस्थितलाई लालपुर्जाको व्यवस्था, भाषा, धर्म संस्कृति, धार्मिक सहिष्णुता र एकता नेपालीको सभ्यता, राष्ट्रिय पूँजीको विकास, स्वदेशी कच्चापदार्थमा आधारित उद्योग स्थापना गर्न अभियानका क्रममा सन्देश प्रवाह गरिनेछ ।
रुपान्तरणकारी एजेण्डा, पार्टीले उठाउँदै आएका अन्य मुद्दा, कार्ययोजनाबारे जनतालाई बुझाइने उनको भनाइ छ । अभियानले भ्रष्टाचार अन्त्य गर्न जनतालाई जागृत गरिने उल्लेख गरेको छ ।
अभियानअघि अपिल जारी गर्दै नेकपा एसले लोकतान्त्रिक गणतान्त्रिक अधिकारहरू प्राप्त गर्दै जाने क्रममा राज्यमाथि जनताको निगरानी बढेको उल्लेख गरेको छ ।
अपिलमा भनिएको छ, ‘राजनीति तथा सामाजिक चेतनामा ठूलो प्रगति भएको छ । महिला, दलित, जनजाति, अल्पसङ्ख्यक र पिछडिएको क्षेत्रका जनताले विभिन्न हक अधिकार प्रयोग गरेका छन् । सरदर आयु, साक्षरतादर, प्रतिव्यक्ति आय, जीवनस्तर जस्ता मानकमा वृद्धि भएको छ । यातायात, वित्तीय सेवा, सूचना तथा सञ्चारको विस्तार भएको छ ।’
सधैं श्रम गरेर पनि सामान्य जीवन बाँच्ने अवस्थासमेत किन हराउँदै छ ? आफ्नै मुलुकमा रोजगारी नपाएर किन वर्सेनि आठ लाख जवान छोराछोरीले मुलुक छाडिरहेका छन् ? किन उद्योगी÷उद्यमी तथा व्यवसायीले खुट्टै टेक्न नपाउँदै धर्मराउँछन् ? किन उद्यम गर्ने बर्बाद हुन्छ र उद्यम नगर्ने रातारात अर्बपति÷खर्बपति हुन्छ ? हामीले उद्योग व्यवसायको संरक्षण किन गर्न सकेनौं ? राज्यका प्रमुख निकायहरूले नागरिकहरूमा किन सेवा प्रवाह गर्न सकेका छैनन् वा किन सबैतिर दलालीले संस्थागत रूप लिँदैछ ?
सार्वजनिक शिक्षाको गुणस्तर किन खस्किँदै गएको छ ? आधारभूत स्वास्थ्य सेवा किन नागरिकको पहँचमा छैन ? भ्रष्टाचारबाट मुलुकले कहिले मुक्ति पाउँछ ? एक्काइसौं शताब्दीको गणतान्त्रिक युगमा समेत जातीय विभेद तथा छवाछुतको उन्मूलन र महिला हिंसा तथा बलात्कारको नियन्त्रण किन गर्न सकिएन ? गम्भीर सार्वजनिक छलफल तथा बहस हुनुपर्ने ठाउँमा किन सस्तो लोकप्रियता, असहिष्णृता र घृणाको खेती मौलाउँदैछ ? किन हामीकहाँ राजनीतिक अस्थिरता फर्कीफर्की किन आइरहेका छन् ? भन्ने लगायतको प्रश्नको जवाफ अभियानमा खोज्ने अपिलमा उल्लेख छ ।
पुनरुत्थानवादी प्रतिक्रियावादी शक्तिहरू उपलब्धिका रुपमा संविधानको रक्षा र विकास गर्न सबै संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सबै देशभक्त तथा लोकतान्त्रवादी शक्तिसँग हातेमालो गर्दै अघि बढ्ने उल्लेख छ ।
‘समाजवादी कार्यदिशा भएका अन्य राजनीतिक शक्तिसँग संयुक्त मोर्चा गर्दै मुलुकलाई नयाँ वाम विकल्प दिने सङ्कल्पका साथ नेकपा एकीकृत समाजवादी अगाडि बढ्नेछ । आगामी माघमा हुने पार्टीको महाधिवेशनदेखि पार्टी निर्माणको यो नयाँ प्रक्रिया ठोस र संस्थागत रुपले थालिनेछ’, अपिलमा भनिएको छ ।
कालोबजारी बन्द गरी बढ्दो महँगी नियन्त्रण गर्नुपर्ने, सन् १९५० को असमान सन्धि खारेज गर्नुपर्नेलगायत माग गरिएको कार्ययोजनामा समृद्धि र विकासका लागि एकीकृत समाजवादी, मेची–काली सरर…। नेकपा एसको झण्डा फरर, जनताको साथ देशको विकास, सिमाना नियमन गरी ‘वर्क पर्मिट’ लागू गर्नुपर्ने, सबै खेतीयोग्य जमिनमा सिंचाइको व्यवस्था गर्नुपर्ने, नेपालको खनिज पदार्थको दोहन बन्द गर्नुपर्नेलगायत सन्देश प्रवाह गर्ने लक्ष्य लिइएको छ ।