शहरी विकास मन्त्रालयका सचिव श्रेष्ठको अवकाश- रिक्त एक प्राविधिक सचिवमा तीन जना प्रतिस्पर्धी – Nepal Press

शहरी विकास मन्त्रालयका सचिव श्रेष्ठको अवकाश- रिक्त एक प्राविधिक सचिवमा तीन जना प्रतिस्पर्धी

काठमाडौं । शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बिहीबारदेखि अनिवार्य अवकाश पाएका छन् । उनले उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन् ।

२०४७ सालमा खानेपानी इन्जिनियरका रूपमा निजामती सेवा प्रवेश गरेका श्रेष्ठले खानेपानी, शहरी विकास, सिंचाइ र सडक सम्बद्ध निकायमा काम गरेका छन् ।

२०६२ सालमा उपसचिवमा बढुवा भएका श्रेष्ठ २०६६ सालमा सहसचिव बनेका थिए । सडक विभागको महानिर्देशकसमेत भइसकेका उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि प्राविधिक सहसचिव भएर काम गरेका थिए ।

उनले शहरी विकास मन्त्रालयसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिंचाइ मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा सचिवको जिम्मेवारी पूरा गरेका छन् ।

सचिव श्रेष्ठको अवकाशसँगै प्राविधिक (इन्जिनियरिङ सेवा)तर्फ एक जना सहसचिव रिक्त भएको छ । उनको ठाउँमा प्राविधिकतर्फकै एक जना सहसचिव सचिवमा बढुवा गर्ने सरकारको तयारी छ ।

इन्जिनियरिङतर्फ पहिलो नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विज्ञान तथा प्रविधितर्फ पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुख विश्वबाबु पुडासैनी पहिलो नम्बरमा छन् । उनले लामो समय गुणस्तर तथा नापतौल विभागमा महानिर्देशक भएर काम गरेका छन् ।

दोस्रो नम्बरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख रहेका अर्जुनजंग थापा छन् । उनी सडक विभागमा दोहोरिएर महानिर्देशक बनेका थिए ।

तेस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक सरिता दवाडी छिन् ।

रिक्त सचिव पदमा बढुवा गर्न लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको सिफारिस समितिले तीन जना सहसचिवको नाम सिफारिस गर्नेछ । उनीहरुमध्ये एक जनालाई मन्त्रिपरिषद्ले सचिव नियुक्त गर्नेछ ।

वरिष्ठताका आधारमा दोस्रो नम्बरका रहेका सहसचिव थापा एक महिनापछि उमेर हदका कारण अनिवार्य अवकाशमा जाने भएकाले उनैलाई सचिव बढुवा गर्ने बलियो सम्भावना छ । यसअघि पनि मन्त्रिपरिषद्ले सचिव बढुवा गर्दा अनिवार्य अवकाशमा जाने तयारीमा रहेको सहसचिवलाई केही दिन भए पनि बढुवा गर्दै आएको छ ।

निजामती किताबखानाको अभिलेखअनुसार थापाले आगामी कात्तिक ६ गते अनिवार्य अवकाश पाउनेछन् । अवकाशको मुखमा पुगेका सहसचिवलाई सम्मान र पेन्सन सुविधा बढ्ने गरी सचिव बनाउने प्रचलन रहेकाले थापा नै सचिव बन्ने सम्भावना छ । तर, थापा सचिवमा बढुवा भए पनि उनले केही समयमात्रै काम गर्न पाउनेछन् ।

पुडासैनी र दवाडीले भने सचिवका रुपमा पाँच वर्षे कार्यकाल नै काम गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर