संघीयता कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन जरुरी छ : कावा प्रधानमन्त्री खड्का


काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् । उनले तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन जरुरी रहेको बताए ।
कार्य विस्तृतीकरण परिमार्जन प्रारम्भिक सुझाव सङ्कलन, स्थानीय सरकार सङ्घ महासङ्घको कार्यक्रमलाई काठमाडौँमा आज सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले तीन वटै तहका सरकार मिलेर काम गरे मात्र सङ्घीयता कार्यन्वयन हुने बताए । संविधान जारी भइसकेपछि दुईपटक निर्वाचन भइसक्दा समेत सङ्घीय कानुन बन्न नसक्दा सङ्घीयता कार्यान्वयनमा समस्या देखिएको बताए ।
कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले सङ्घीय कानून निमार्णलाई उच्च प्राथमिकतामा राखेको समेत बताए । उनले विद्यालय शिक्षासम्बन्धी विधेयक संसदमा पेश भइसकेको र अब चाँडै निजामती कर्मचारीसम्बन्धी विधेयक र सङ्घीय प्रहरीसम्बन्धी विधेयक पनि संसदमा दर्ता गर्ने तयारी भइसकेको बताए ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका खड्काले अधिकारको खोजी गर्दा सङ्घीयतालाई ध्यान दिन सुझाव दिए । उनले अहिले सबैमा अधिकारको तानातान गर्ने प्रवृति देखिएको भन्दै प्राप्त अधिकारको अधिकतम प्रयोग गर्नका लागि स्थानिय सरकारका अधिकारीलाई आग्रह गरे ।