गण्डकी प्रदेशका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्रीबीच शिष्टाचार भेट – Nepal Press

गण्डकी प्रदेशका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्रीबीच शिष्टाचार भेट

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनीबीच शिष्टाचार भेट भएको छ । बिहीबार मुख्यमन्त्री कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

उक्त भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समुन्नतिको प्रमुख पाटो पर्यटन रहेकाले यस क्षेत्रमा सहकार्य गर्न सकिने बताए । साथै उनले प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिरहेकाले दातृ राष्ट्रको सहयोगपनि यस क्षेत्रमा आवश्यक भएको बताए ।

जीविकोपार्जनको क्षेत्रमा पनि सहकार्य गर्न सकिने बताउँदै उनले भने ‘बसाईँसराई रोक्न र गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने खालका प्रोजेक्टमा हामीलाई सहयोगको खाँचो छ, सहकार्य गर्न सक्छौँ ।’ प्रदेश सरकारको प्राथमिकताको क्षेत्रहरु व्यवसायिक कृषि, स्वास्थ्य, शिक्षामा पनि दातृ निकायसँग सहकार्य गरेर अघि बढ्न सकिने मुख्यमन्त्री पाण्डेले बताए ।

भेटमा अमेरिकी उप विदेशमन्त्री एवं आप्रवासन विभागका उप सहायक सचिव वाईनीले बिगतदेखि नेपाल र अमेरिकी सरकारबीचको संम्बन्ध अहिले पनि सौहार्दता रहेको बताउँदै सरकारको प्राथमिकताका क्षेत्रहरुमा सहकार्य हुने बताईन् । साथै उनले पहिलो पटक पोखरा आएको बताउँदै यहाँको सुन्दरताले पर्यटकलाई आकर्षित गर्न सक्ने आफुलाईपनि निकै सुन्दर लागेको बताइन् ।

भेटघाटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव लक्ष्मी बस्नेत र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले विपद् पूर्व तयारी र प्रतिकार्य, शुद्ध पिउने पानी र सरसफाई, स्वास्थ्य, साक्षरता, जिविकोपार्जन, दिगो आर्थिक विकासको अवस्था र संभावनाका बारेमा जानकारी गराएका थिए ।

भेटघाटमा प्रदेशसँगको संम्बन्ध र मित्रताको बारेमा छलफल भएको छ । साथै गण्डकी प्रदेश र अमेरिकी सरकारबीचको सहयोग आदानप्रदानको विषयमा छलफल भएको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर