मध्यपुर थिमिको पर्यटन प्रवर्द्धनमा लायन्स क्लवहरुको चासो – Nepal Press

मध्यपुर थिमिको पर्यटन प्रवर्द्धनमा लायन्स क्लवहरुको चासो

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको पर्यटन प्रवर्द्धन तथा सम्पदा संरक्षणमा यहाँका लायन्स क्लवहरुले चासो दिएका छन् । पर्यटकीय गन्तव्यस्थल काठमाडौं र भक्तपुरको मध्य भागमा रहेर पनि पर्यटकहरु मध्यपुर थिमिमा पुग्दैनन् ।

मध्यपुर थिमि काठमाडौं र भक्तपुरकै हाराहारीमा ऐतिहासिक एवं सांस्कृतिक र पर्यटकीय नगरी हो । यहाँ ऐतिहासिक मठमन्दिर, नाचगान तथा सम्पदाहरु छन् । बालकुमारी, कुमारी, नीलबाराही, सिद्धि गणेश, सिद्धिकाली मन्दिर, दुईपोखरीलगायत यहाँ ऐतिहासिक सम्पदा हुन् ।

यहाँ बिस्का जात्राअन्तर्गत जिब्रो छेड्ने र सिन्दूर जात्रा मनाइन्छ । त्यस्तै गाईजात्रामा नीलबाराही, भैरव र महाकाली गणनाच प्रदर्शन हुन्छ । त्यस्तै यहाँको माटोकला काठमाडौं उपत्यकामै उत्कृष्ट मानिन्छ । तर, यी सबैको प्रवर्द्धन नहुँदा मध्यपुर थिमिले पर्यटकहरुलाई आकर्षण गर्न सकेको छैन । बाह्यमात्रै होइन आन्तरिक पर्यटकहरुसमेत मध्यपुर थिमिमा कमैमात्र पुग्छन् ।

यसरी काठमाडौं उपत्यकाभित्रै रहेर पर्यटकीय दृष्टिले पछाडि परेको मध्यपुर थिमि नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्न यहाँका पाँच वटा लायन्स क्लवले यही शनिबार सम्पदा पदयात्रा गर्दैछन् । लायन्स क्लव अफ भक्तपुर मेरिगोल्ड, बालकोट, चाँगुनारायण, प्रिन्सिपल र नीलकण्ठेश्वरले मध्यपुर थिमि नगर क्षेत्रका सम्पदास्थलहरुमा पुग्ने गरी सम्पदा पदयात्रा गर्ने भएका हुन् । यी क्लवहरुले बुधबार सम्पदा पदयात्राबारे जानकारी दिन पत्रकार सम्मेलनसमेत गरेका छन् ।

पदयात्रा शनिबार बिहान नयाँ ठिमीस्थित शंखधर चोकबाट अघि सम्पदा पदयात्रा मूल समितिका संयोजक उद्धव सिलवालले पत्रकार सम्मेलनमा जानकारी दिए । ब्रेक फास्टसहित शंखधर चोकबाट अघि बढेको पदयात्रा बालकुमारी मन्दिर, दुई पोखरी, भुलाँखेल, पाटी विहार, सिद्धिकाली मन्दिर, सिद्धि गणेश मन्दिर हुँदै नगदेश बुद्ध विहारमा पुग्नेछ ।

त्यस्तै नीलकण्ठेश्वर मन्दिरबाट टिगनी, नीलबाराही मन्दिर, बोडे, कमलपोखरी हुँदै बोडे कुमारी मन्दिरमा पदयात्रा समापन गरिने संयोजक सिलवालले जानकारी दिए । समापनमा सांस्कृतिक कार्यक्रम र झ्वः भ्वयः (नेवारी सुकुल भोज) को व्यवस्था गरिएको छ । उनका अनुसार पदयात्रामा करिब ३५० जना सहभागी हुनेछन् ।

‘प्रत्येक सम्पदा क्षेत्रमा स्थानीय संस्कृतिविद् तथा सम्पदाविद्बाट ब्रिफिङसमेत गर्ने व्यवस्था गरेका छौं’, उनले भने, ‘जसबाट पदयात्राका सहभागीले सम्बन्धित सम्पदाबारे समेत जानकारी हासिल गर्न पाउनेछन् ।’

उनले मध्यपुर थिमिको पर्यटन प्रवर्द्धन गर्न लायन्स क्लवहरुले स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने बताए ।

सहभागीलाई एक हजार रुपैयाँ शुल्क लाग्नेछ । उक्त शुल्क तिरेवापत सहभागीले पदयात्राको एउटा टी–शर्ट, ब्रेक फास्ट र झ्वः भ्वयः (नेवारी सुकुल भोज)को मजा लिन पाउनेछन् ।

पत्रकार सम्मेलनमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ एचका गर्भनर शम्भुबहादुर थापाले आफ्नो डिस्ट्रिकले यस वर्ष सम्पदा संरक्षण र संस्कृति प्रवर्द्धनलाई प्राथमिकतामा राखेको सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर