पत्रकार धामीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग


काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार कृष्णसिंह धामीमाथिको आक्रमणमा संलग्नलाई कानूनी कारबाही गर्न माग गरेको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै रातोपाटी अनलाइनमा कार्यरत सिंहमाथि आक्रमण गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै कारबाहीको माग गरेको हो ।
‘भाद्र २५ गते सोमबार त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिएको केही शैक्षिक कार्यक्रमका बारे रातोपाटी अनलाइनले समाचार प्रकाशित गरेको थियो । सोही विषयलाई लिएर विद्यार्थी संगठनले पत्रकार कृष्णसिंह धामी र रातोपाटी अनलाइनको नाम किटान गरी २०८० भाद्र २६ गते मंगलबार चेतावनीपूर्ण विज्ञप्ति जारी गरेको विषयलाईसमेत मध्यनजर गर्दै अनुसन्धान अघि बढाइ कानुनी कारबाही गर्न महासंघ माग गर्दछ’, महासंघका सचिव गोविन्द चौलागाईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम भएको भन्दै दिनदहाडै भएको सय घटनाले प्रेसको सुरक्षा स्थिति चुनौतीपूर्ण देखिएको महासंघको निष्कर्ष छ । अपराधिक मनसायले पत्रकारमाथि आक्रमण गर्नेको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ ।
श्रमजीवी पत्रकार संघ लगायत अन्य संघ संगठनको पनि ध्यानाकर्षण
पत्रकार धामीमाथिको आक्रमणमा संलग्न व्यक्तिलाई हदैसम्मको कानूनी कारबाही गर्न श्रमजीवी पत्रकार संघ, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश, आर्थिक पत्रकार संघ (नाफिज) लगातले पनि माग गरेका छन् ।
संघका अध्यक्ष जन्मदेव जैशी, उपत्यका प्रदेशका महासचिव टेनिश रोक्का, नाफिजका महासचिव नविन ढुंगानाले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै सोमबार अपराह्न खाजा खाएर बखुन्डोलस्थित आफ्नो कार्यालयमा फर्कदै गर्दा अज्ञात समूहले आक्रमण गरेको घटनाप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउदैँ हदैसम्मको कारवाहीको माग गरेका हुन् ।