शताब्दी पुरुष डा. दास: ७ सालमै गरेका थिए एमबीबीएस पास – Nepal Press

शताब्दी पुरुष डा. दास: ७ सालमै गरेका थिए एमबीबीएस पास

काठमाडौं । एक शताब्दीभन्दा लामो जिन्दगी बाँच्नु धेरैका लागि प्रेरणाको कुरा हो । त्यति लामो जीवनमा पनि स्वास्थ्य, जाँगरिलो, अध्ययनशील, विचारशील बनेर सक्रिय जीवन जिउनु सबैका लागि उत्प्रेरणा हो । आज डा. गौरीशंकरलाल दास यही जीवन बाँचिरहेका छन् ।

वि.सं १९८१ असोज ९ गते सिरहाको इनर्वामा जन्मिएका डा. दासले आज सय वर्षको स्वप्निल जीवन पूरा गर्दैछन् । सय वर्षको उमेरमा पनि उनको जाँगर युवाकालको झैं छ । अध्ययनले निखारिएका छन् । विचारले खाँदिएका छन् । शारीरिक रुपले तन्दरुस्त छन् । ठमठम हिँडिरहेका छन् ।

उनी वि.सं. २००७ सालका एमबीबीएस डाक्टर हुन् । राणा शासन हटेर देशमा प्रजातन्त्र आउँदै गर्दा डा. दास भारतको पटना विश्वविद्यालयबाट एमबीबीएस गर्दै थिए । जनताको आन्दोलनले देशमा राणाशासन सकियो । राणाहरु देशको शासनसत्ताबाट बाहिरिए । २६ वर्षे दास डाक्टर बनेर देशमा भित्रिए ।

डा. दासले भारत, विहारको रामेश्वरसिंह उच्च माविबाट म्याट्रिक्स पास गरेका थिए विंसं. १९९७ मा । विहारकै भागलपुर जिल्लाबाट प्रवीणता प्रमाणपत्र तह पूरा गरेका थिए । स्नातकमा के पढ्ने ? डा. दासले निर्णय लिन सकेका थिएनन् । मुम्बईमा इन्जिनियरिङका लागि प्रवेश परीक्षा दिएका थिए । नाम पनि निस्केको थियो । दास भन्छन्, ‘तर, बुवाको इच्छा भने छोरो डाक्टर बनून् भन्ने थियो ।’

अन्ततः डा. दासले बुवाको इच्छालाई नकारेनन् । एमबीबीएस पढेर बुवाको सपना पूरा गर्ने अठोट गरे र २००७ सालमा एमबीबीएस उत्तीर्ण भए । यसपछि बेलायतको वेल्सबाट छातीरोग विशेषज्ञता हासिल गरे । दास भन्छन्, ‘म त नेपालमा क्षयरोगका बिरामी धेरै छन् भनेर त्यही विषय पढ्न गएको थिएँ । नेपाल आउँदा पो थाहा पाएँ, म नेपालकै दोस्रो छातीरोग विशेषज्ञ रहेछु ।’

बेलायतबाट विशेषज्ञता हासिल गरेर डा. दास २००९ सालमा नेपाल फिरे । त्यसवेला नेपालमा पाँच जनामात्रै विशेषज्ञ डाक्टर थिए । तीमध्ये तीन जना त वीर अस्पतालमा आवद्ध थिए । त्यसवेला वीर अस्पताल नै दुइटा थियो, पुरुष वीर अस्पताल र महिला वीर अस्पताल ।

तत्कालीन समयमा वीर अस्पतालका निर्देशक थिए डा. जीतसिंह मल्ल । अन्तर्वार्ताका क्रममा डा. मल्लले डा. दासलाई सोधे, ‘टन्सिल कसरी निकाल्नुहुन्छ ?’

डा. दास सुनाउँछन्, ‘मैले टन्सिलको उत्तर दिएँ । उत्तरले उहाँलाई चित्त बुझेन । उहाँले तुरुन्त नियुक्ति दिनुभयो ।’

डा. दासले २००९ सालमा मासिक २०० रुपैयाँ तलबमा वीर अस्पतालमा आवसीय चिकित्सकको रुपमा नियुक्ति पाए । उनी सुनाउँछन्, ‘त्यसवेला वीर अस्पताल नै धाएर उपचार गर्नेहरु गरिबमात्रै थिए । धनीका लागि भने उपचार गर्न घरमै जानुपर्थ्यो ।’

धनीको घरमा गएको ५०० रुपैयाँ पारिश्रमिक पाइने डा. दासको सम्झना छ । पेशाले डाक्टर भएर बिरामीहरुको उपचार गर्ने उनी सौखले भने धेरै थोक थिए । संगीतमा गहिरो रुचि थियो । साहित्यमा उस्तै चासो राख्थे । अहिले पनि राख्छन् ।

संगीतकार नातिकाजीले गीत गाउँदा डा. दास बाँसुरी र ढोलक बजाउँथे । नातिकाजी उनका सबैभन्दा मिल्ने साथी थिए । लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, हृदयचन्द्रसिंह प्रधानलगायत साहित्यकारसँग पनि डा. दासको घनिष्ठ सम्बन्ध थियो । जसको मियो थियो, ‘संगम’ नामक भित्ते पत्रिका । जुन पत्रिका कैलाशराम श्रेष्ठको सहयोगमा उनै डा. दासले निकालेका थिए ।

वि.संं. २०१७ सालमा सहपाठी डा. नागेश्वरप्रसाद सिंह पञ्चायती स्वास्थ्यमन्त्री बनेपछि डा. दास स्वास्थ्य विभागको निर्देशक बने । विश्व स्वास्थ्य संगठनको पहिलो बैठक नेपालमा उनकै नेतृत्वमा भएको थियो । २०२६ सालमा डा. दास उपाध्यक्ष रहने गरी कुष्ठरोग निवारण संस्था स्थापना भयो ।

२०३३ सालमा राजा वीरेन्द्रले डा. दासलाई काजमा बोलाए । उनकै संयोजकत्वमा प्रथम दीर्घकालीन स्वास्थ्य योजना बन्यो । उनी सुनाउँछन्, ‘पछि दरबारका सचिवसँग खटपट परेपछि राजीनामापत्र बुझाउन प्रधानमन्त्री डा. तुलसी गिरीकहाँ पुगेको थिएँ । तर, उहाँले सम्झाएर मलाई फिर्ता पठाउनुभयो ।’

पञ्चायतकालमै सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् गठन भयो । अध्यक्ष थिइन्, रानी ऐश्वर्य । सदस्य सचिव थिए डा. दास । राजाकै पहलमा २०३५ सालमा लोकसेवा आयोगमा मनोनीत पनि भए । २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आग्रहमा मानव अधिकार आयोगको संस्थापक सदस्यमा नियुक्त भए ।

यस्ता अनेक संघसंगठनमा रहेर नेपाली समाजलाई योगदान दिएका डा. दासलाई सय वर्ष पुगेको अवसरमा मंगलबार ‘दिव्य शताब्दी पुरुष’ घोषणा गर्दै अभिनन्दन गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *