भीआईपीका कारण रोकिएका डाक्टर लिन निगमको जहाज मुगु पठाइयो – Nepal Press

भीआईपीका कारण रोकिएका डाक्टर लिन निगमको जहाज मुगु पठाइयो

सुर्खेत । मुगुको ताल्चा विमानस्थलमा रोकिएका १६ जना डाक्टर लिन नेपाल एयरलाइन्सको जहाज पठाइएको छ । नेकपा माओवादी केन्द्रका नेताहरूलाई लिएर सीट नपुगेको भन्दै समिट एयरको जहाज डाक्टरलाई छाडेर नेपालगञ्ज उडेको थियो ।

भीआईपीका कारण सीट नपुगेको भन्दै टिकट काटिसकेका डाक्टरलाई विमानस्थलमै छाडेर समिट एयरले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, माओवादी उपमहासचिव मातृका यादव, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीलगायतका नेता लिएर नेपालगञ्ज पुगेको थियो ।

समिट एयरले भीआईपी सवारीका कारण टिकट काटिसकेकामध्ये ५ जना डाक्टरलाई लैजान नसकिने भनेपछि १६ जनैले नजाने अडान राखेका थिए ।

नेताहरु नेपालगन्ज पुग्ने बितिक्कै तत्काल उक्त विमानलाई मुगु पठाइएको नेकपा माओवादी पार्टीका प्रदेश अध्यक्ष विमला केसीले नेपाल प्रेसलाई जानकारी दिइन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुगुको ताल्चा विमानस्थलमा छुटेका चिकित्सकहरूको खबरले दुःखित बनाएको भन्दै गन्तव्यमा पुऱ्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर