महिला उद्यमीलाई प्रोत्सासन गर्न कोशेली घर संचालन


रुपन्देही । बुटवल उद्योग वाणिज्य संघमा कोशेली घर सञ्चालन गरिएको छ । महिला उद्यमीहरुले सञ्चालन गरेका उद्योगका उत्पादन तथा स्थानीय हस्तकलाका सामानहरु सुपथ मूल्यमा बिक्री वितरण गर्नेगरी कोशेली घर सञ्चालनमा ल्याइएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्य तथा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वाणिज्य उपाध्यक्षसमेत रहेका कार्यवाहक अध्यक्ष वैद्यले कोशेली घर स्थापनाले यस क्षेत्रको महिला उद्यमशिलतामा बृद्धि हुने विश्वास व्यक्त गरे ।
उनले अझै पनि मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार तयार हुँदैन भने उद्योगी व्यवसायी सडकमा आउनुको विकल्प नभएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योग व्यवसायमा संकटकालको स्थिति रहेको बताउँदै साना ठूला सबै उद्योगी व्यवसायीलाई आन्दोलनमा जानुपर्ने अवस्था आउनसक्ने बताए ।
‘करको दायरा मात्रै होइन दर पनि बृद्धि भएको छ, बैंक व्याज उच्च छ, व्यापार व्यवसायमा मन्दी आएको छ ।’ उनले भने–‘सरकार हाम्रा कुरा सुन्दैन, सडकमा आउनुको विकल्प छैन ।’
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले मुलुकको आर्थिक अवस्थाको कारण उद्योगी व्यवसायी मारमा परेको बताए । उनले व्यापार व्यवसायमा आएको मन्दीले कतिपय व्यापारी तथा उद्योगी पलायन भइसकेको र कतिपय पलायन हुने स्थितिमा रहेको भन्दै यसमा गम्भीर बन्न सरकारलाई आग्रह गरे ।
उनले महिला उद्यमीको उद्यमशीलता विकास तथा उत्पादित बस्तुको बजारको पहुँच बढाउनको लागि कोशेली घर सञ्चालन गरिएको पनि अध्यक्ष कसजूले जानकारी गराए ।
कोशेली घर सञ्चालनको लागि स्थान तथा त्यसको व्यवस्थापन बुटवल उद्योग वाणिज्य संघले गरेको छ भने सञ्चालनको जिम्मेवारी स्थानीय उद्यमी निर्जला थापाले लिएकी छिन् । त्यस्तै कोशेली घरमा विद्युत तथा पानीको व्यवस्थापन संघले नै मिलाएको कोशेली घरका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य जमुना पौडेलले जानकारी गराइन् ।