उपन्यासबारे ओलीको अभिव्यक्ति चर्चामा, सुविन भट्टराई भन्छन्- मलाई ताकेर भन्नुभएको होइन होला


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिकबाहेक पनि अनेकन् विधामा सार्वजनिक टिप्पणी गर्ने गर्छन् । अहिले चाहिँ उनले पुस्तकका सन्दर्भमा दिएको एउटा रोचक अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल छ । उनले एउटा कार्यक्रममा उपन्यासका किताब नलेख्न र नपढ्न सुझाव दिएका थिए ।
गत शनिवार ‘बालबालिकासँग बा’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा ओलीलाई बालबालिकाले दुई घण्टासम्म थुप्रै प्रश्न सोधे । त्यसमध्ये एउटा प्रश्न थियो, हामी विद्यार्थीले कस्ता किताब पढ्दा राम्रो हुन्छ बा ?
ओलीले विद्यार्थीलाई सबैभन्दा बढी कोर्सबुकमा र त्यसपछि रेफ्रेन्स बुकमा केन्द्रित हुन भनेका थिए । बचेको समयमा ज्ञानवर्धक पुस्तक पढ्न उनले सुझाव दिए । समयको बर्बादी मात्र गर्ने पुस्तक भने पढ्नु नहुने उनको भनाइ थियो ।
ओलीले भनेका थिए–
‘वेस्ट अफ टाइम मात्रै हुने, जसलाई पढिसक्दा तपाईँले केही पनि पाउनुहुन्न…यत्रो उपन्यास हुन्छ, हजार पेजको । पढेर अन्तिममा के पाउनुहुन्छ भन्दा दुई जना, एउटा केटा र एउटी केटीले लभ गरेछन् । त्यो लभ कि सफल भो कि असफल भो । पाइने त्यत्ति हो । यो त दिनदिनै घर गाउँमा भइराख्ने कुरा हो त । त्यसका लागि यति मोटो उपन्यास पढ्नुपर्छ ? बेकार । लभ पनि अलिअलि गरेकै हुन्छ । कि असफल हुन्छ कि सफल । यत्रो उपन्यास लेख्नु पनि पर्दैन पढ्नु पनि पर्दैन मेरो बिचारमा । ज्ञानवर्धक कुरा बढी पढ्नुस् । ज्ञानवर्धक पुस्तक लेख्नुस् । ज्ञानवर्धक कुरा सम्प्रेषण गर्नुस् ।’
ओलीको यो अभिव्यक्तिले मानिसहरूलाई उनले तीन साताअघि सामाजिक सञ्जालमा राखेको स्टाटस र तस्बिर सम्झाइदिएको छ । उनले सुविन भट्टराईद्वारा लिखित ‘इजोरिया’ उपन्यास पढिरहेको फोटो फेसबुकमा सार्वजनिक गरेका थिए ।
ओलीले त्यसमा लेखेका थिए, ‘सुविन भट्टराईको ‘इजोरिया’ हिजो पाएँ । यो उपन्यास मदन पुरस्कारको सूचिमा पनि छ । खास गरी सामाजिक सञ्जालमा धेरैजसोले यो किताब पढ्न सुझाव दिँदै म्यासेज र कमेन्ट गर्नुभएको थियो । सरसरती हेर्दा युवाले मन पराउने भाषा शैली रहेछ । कतिले पढ्नुभयो र कस्तो लाग्यो ?’
सुविन भट्टराई प्रेमिल उपन्यासका लागि चिनिन्छन् । उनका उपन्यासहरू युवायुवतीमाझ लोकप्रिय छन् । ओलीले कतै ‘इजोरिया’ पढेर उपन्यासका विषयमा यस्तो धारणा बनाएका त होइनन् ? हामीले यस विषयमा इजोरियाका लेखक नै सोध्यौँ ।
सुविन भट्टराई ओलीले आफैँलाई ताकेर भनेजस्तो नलागेको बताउँछन् । ओलीले फेसबुकमा आफ्नो पुस्तक पढिरहेको देख्दा खुसी लागेको भन्दै उनले थपे, ‘सबै आख्यान नै नराम्रो भनिहाल्नु हुँदैन जस्तो कि लाग्छ । कतिपय पाठकको हातमा गतिलो किताब परिदियो भने ऊ सदाको लागि पाठक हुन्छ । उहाँले पढ्नुभयो, मलाई राम्रै लाग्यो । खुसी पनि लाग्यो । तर, मेरा किताब ठूलाठूला सेलिब्रेटीले पनि पढ्नुभएको छ । हरेक क्षेत्रकाले पढ्नुभएको छ । त्यसैले उहाँले पढेको विषय भयानक हो भन्ने पनि लागेन ।’
देशको ठूलो राजनीतिज्ञले आफ्नो किताब पढिदिनु भने खुसीकै कुरा रहेको भट्टराईले बताए ।
भट्टराईका अनुसार अहिलेसम्म ‘इजोरिया’ ७५ हजारभन्दा बढी प्रति बिक्री भइसकेको छ । यो नै ठूलो उत्साह भएको भट्टराईको दाबी छ । भन्छन्, ‘पाठकले राम्रै किताबलाई माथि पुर्याउने हो । यसरी पाठकले मन पराइदिनु भनेको मेरो मिहेनत, कर्म र लगावले न्याय पाएको जस्तो लाग्छ ।’
ओलीको पछिल्लो अभिव्यक्ति चाहिँ उनलाई कस्तो लाग्यो त ?
भट्टराई भन्छन्, ‘उपन्यास धेरै प्रकारका हुन्छन् । कुनै सामाजिक हुन्छन् । कुनै स्वैरकाल्पनिक हुन्छन् । कुनै सूक्ष्म विषयमाथि लेखिएका हुन्छन् । इतिहास, राजनीतिलाई उठाइएका हुन्छन् । आख्यान पढेपछि त बुझाइको दायरा फराकिलो हुने हो । के मन पर्ने र के नपर्ने भन्ने चाहिँ पाठकको रोजाइको विषय पनि हो । पाठक हाँस्न चाहन्छ, तर रुने खालको किताब छ भने उसलाई झुर लाग्न सक्छ ।
के पढ्ने र के नपढ्ने मान्छे अनुसार फरक हुन्छ । म धेरैको अप्रिय लेखक पनि हो । कसैले पढेर, कसैले नपढी त कसैले नामै सुनेर पनि मलाई मन पराउनुहुन्न होला । कोही लेखकको पनि सय प्रतिशत मन पर्ने पुस्तक हुँदैन । पाठकको आधारमा मन पर्ने र नपर्ने छुट्टिएर जान्छ । वैचारिक किताबको पहुँचसम्म पुग्नलाई पनि आख्यानको गोरेटोबाट हिँड्नुपर्छ । ५० वर्ष पुगेको मान्छेले बल्ल किताब पढ्न सुरु गर्छ भने उसलाई बालकथा नै राम्रो हुन सक्छ ।
अब प्रेमको कुरा गर्दा प्रेम वर्जित कुरा होइन । मान्छेले जन्मेदेखि मरुन्जेलसम्म प्रेम आवश्यक कुरा हो । प्रेम जीवन हो । बिपी कोइरालाले प्रेम र यौनलाई कति ‘बोल्डली’ लेख्नुभयो । बिपी सर्वस्वीकार्य भएका छन् । तर, हरेक हिसाबले समाज अगाडि बढ्दै गर्दा चाहिँ साहित्यमा हामी प्रेम र यौन भनेर विभेद गरिरहेका छौँ । कुनै पुस्तक सामाजिक हो, कुनै यौन हो भनेर दुरदुर गर्न आवश्यक छैन । साहित्यको हरेक विधामा पाठक हुन्छन् ।
म लेखक हुन कोसिस गरिरहेको छु । मिलियन पाठकले माया गरिसक्नुभएको छ । समालोचकले मान्न बाँकी छ । उहाँहरूको दृष्टिकोणमा म लेखक होइन होला । तर, म आफैँले आफूलाई भने बलियो लेखक मान्छु । सशक्त लेखक मान्छु । यदि म पाठक हो भने मेरो फेभरेट लेखक म नै हो । किन म नै हो भन्दा मैले पढ्न चाहेको कुरा म आफैँ लेख्छु । जो अरूले लेखिदिँदैन ।
उहाँले (ओली) मेरो किताब पढ्नुभयो कि पढ्नुभएन, थाहा भएन । किताब चाहिँ समाउनु भयो । यस हिसाबले उहाँलाई धन्यवाद दिन्छु । किताब पढ्दै छु भनेर चासो देखाइदिनु नै हामीलाई एप्रिसियट गर्नु हो । तर, राजनीतिज्ञले किताब पढ्दा त्यत्रो हंगामा हुनु आवश्यक थिएन । उहाँले किताब समाएर फोटो हाल्नुभएपछि म मदन पुरस्कारको सूचिमा पर्दाभन्दा बढी फोन आयो । अब उहाँ व्यस्त मान्छे हो । उहाँलाई कस्तो लाग्यो हजुर भनेर प्रतिक्रिया सोध्ने कुरा पनि भएन । जे होस्, उहाँले पढ्नुभयो, उहाँलाई धन्यवाद ।’