पुरुष वडाध्यक्षलाई महिनावारी प्याड उपहार – Nepal Press

पुरुष वडाध्यक्षलाई महिनावारी प्याड उपहार

चितवन । सामान्यतया महिनावारी, प्रजनन स्वास्थ्यसँग जोडिएका विषयका सार्वजनिक छलफलहरुमा पुरुषहरु पुग्दैनन् । कार्यालयसँग सम्बन्धित निम्तो भएपनि महिला प्रतिनिधि पठाइदिने गर्छन् । अझ घरभित्र तथा आफ्नै समुदायमा यस विषयमा गरिने छलफलमा त पुरुषहरु सहभागी हुनै खोज्दैनन् ।
चितवनको एक महिनावारी प्याडसँग जोडिएको एक सार्वजनिक कार्यक्रममा भने पुरुष सहभागी मात्रै भएनन् उनीहरुले महिनावारीमा प्रयोग गर्ने प्याड उपहार पनि लिए ।

महिनावारीलाई मर्यादित बनाउनुपर्छ र महिनावारी स्वास्थ्य महिलाको सबैभन्दा महत्वपूर्ण पक्ष हो भनेर अभियान चलाउँदै आएको महिलाका निम्ति सक्रिय न्याय मञ्चद्वारा सञ्चालित मितेरी जैविक प्याड उत्पादन केन्द्रले सार्वजनिक कार्यक्रम गरेको थियो ।

गाउँका महिला समूह, स्थानीय अगुवाहरु सहभागी कार्यक्रममा भरतपुर महानगरपालिका १८ का वडाध्यक्ष बाबुराम रानामगर उपस्थित थिए । संविधानमा लेखिएको प्रजनन स्वास्थ्य अधिकार, कानूनले दिएको महिनावारीमा गरिने विभेदलाई अपराध मान्ने व्यवस्थाबारे छलफल गर्ने कार्यक्रम थियो ।

मञ्चका अध्यक्ष तथा मितेरी जैविक प्याड उत्पादन केन्द्रको सञ्चालक समेत रहेकी सावित्री भण्डारीले कार्यक्रममा मर्यादित महिनावारीबारे जानकारी गराइन् । उनले स्थानीय तहबाट नै मर्यादित महिनावारीको बारेमा छलफल चलाउनुपर्ने पनि बताएकी थिइन् ।

त्यसपछि उनले आफूसँग भएको उत्पादन अतिथिहरुलाई उपहार दिने भन्दै वडाध्यक्ष सहित कार्यक्रमका महिला तथा पुरुष सहभागिहरुलाई महिनावारी प्याड उपहार दिइन् । पुरुषलाई प्याड दिएको भनेर सहभागी महिलाहरु हाँसेका थिए ।

प्याड उपहार लिएपछि वडाध्यक्ष रानाले भने, – यति राम्रो अभियानकोे हिस्सा बन्न पाउँदा खुसी लाग्यो । उनले मर्यादित महिनावारीबारे लाज नमानी छलफल गर्नुपर्ने र वडाले यसमा सहयोग पनि गर्ने बताए ।

मञ्चले २०७५ सालदेखि चितवनमा जैविक महिनावारी प्याड उत्पादन गर्दै आएको छ । प्रयोग गरेको केही महिनामा नै गलेर माटोमा मिल्ने र महिनावारीको समयमा प्रयोग गर्दा महिलाहरुलाई असर पनि नगर्ने प्याड आफूहरुले उत्पादन गर्दै आएको भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार २५ जना महिलाहरुले २५/२५ हजार रुपियाँ उठाएर हाते मेसिनबाट महिनावारी प्याड उत्पादन सुरु गरिएको थियो । पुनस् प्रयोग गर्न मिल्ने र एकपटक मात्रै प्रयोग गर्ने गरि दुई प्रकारका महिनावारी प्याड केन्द्रले उत्पादन गर्दै आएको छ ।

अहिले जैविक प्याड उत्पादन केन्द्रमा अहिले स्वचालित मेसिन छ । भने, केन्द्रले अहिले १२ हजार पिससम्म उत्पादन गर्न सक्छ । यद्यपि दैनिक उत्पादन खर्चको अभावमा पूर्ण रुपमा उत्पादन गर्न सक्ने अवस्था छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर