दुईवटा एजेन्डामा चतुर तयार भएपछि राजभण्डारीले उनकै अगाडि च्याते आफ्नो मनोनयन फाराम
एक महिनाभित्र नेपालको ‘ए टिम’ बनाउने र खेलाडीलाई पूर्वघोषित नगद पुरस्कार दिलाउने चतुरको प्रतिवद्धता


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा अन्ततः चतुरबहादुर चन्द नै दोहोरिने भएका छन् । उनलाई चुनौति दिने तयारीमा रहेका बर्दियाका क्यान अध्यक्ष विनय राजभण्डारी अन्तिम क्षणमा ब्याक भएपछि चन्दले चुनावी प्रतिस्पर्धा गर्नु नपर्ने भएको हो ।
राजभण्डारीले चन्दको कार्यकाललाई असफल करार दिँदै उनीविरुद्ध लड्ने बताएका थिए । सुरुमा चन्दले उनको चुनौतिलाई हल्कारुपमा लिएका थिए । राजभण्डारीले प्रस्तावक र समर्थक समेत नपाउने भनेर निकटस्थसँग कुरा गरिरहेका थिए । तर, राजभण्डारीले मनोनयन फाराम भरेर उम्मेदवारी दिन ठिक परेपछि भने चन्द गम्भीर भए ।
राजभण्डारीले मनोनयन पत्र दर्ता गर्न लागेपछि चन्दले उनलाई एउटा कोठामा लगेर फकाए । उनका सरोकारहरु आफूले सम्वोधन गर्ने आश्वासन दिए ।
राजभण्डारीले आफू कुनै पदमोहले नभए आफ्ना एजेन्डा स्थापित गर्न अध्यक्षमा उठ्न लागेको चन्दसँग बताएका थिए । यदि चन्दले आफ्ना एजेन्डालाई कार्यान्वयन गरेको खण्डमा उम्मेदवारी फिर्ता लिन तयार रहेको उनको भनाइ थियो ।
स्रोतका अनुसार राजभण्डारीले दुईवटा मुख्य माग राखेका छन् । पहिलो नेपालको ए टिम बनाउने र दोस्रो खेलाडीहरुलाई सरकारले घोषणा गरेको नगद पुरस्कार दिलाउने । चन्दले यी दुवै माग एक महिनाभित्र पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
उक्त प्रतिवद्धतापछि चन्दले राजभण्डारीलाई मनोनयनपत्र च्यात्न आग्रह गरे ।‘बाहिर गएर मन बदलिन सक्छ, अहिले मेरै अगाडि च्यात्नुस’ चन्दले यस्तो आग्रह गरेपछि राजभण्डारी पनि तयार भएर र उनकै अगाडि फारम च्याते ।
नेपाल प्रेससँग कुराकानी गर्दै राजभण्डारीले चन्दले आफूले कुनै पदको बार्गेनिङ नगरेको बताएका छन् ।
उनले भने, ‘मैले पदका लागि होइन, उहाँजस्तो असफल नेतृत्व फेरि दोहोरिन हुन्न भनेर उम्मेदवारी दिन खोजेको थिएँ । मेरो जितको सम्भावना कमजोर थियो, तर सम्मानजनक मत ल्याउन सक्थेँ । उहाँले आफूलाई सुधारेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । एक महिना हेर्छु । कार्यशैलीमा परिवर्तन आएन भने फेरि म विभिन्न माध्यमबाट आवाज उठाउँछु भनेर भनेको छु ।’
राजभण्डारीले आफू अब केन्द्रमा कुनै पदको उम्मेदवार नबन्ने बताएका छन् । उनी अहिले बर्दिया क्रिकेट संघको अध्यक्ष हुनुका साथै लुम्बिनी प्रदेश संघको उपाध्यक्ष पनि हुन् ।