बझाङमा भाइले गरे दाजुको हत्या

कैलाली । बझाङमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ ।जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
उनीहरु दुबै जना नाताले दाजु भाइ हुन् । शुक्रबार साँझ साढे ७ बजे हत्या गरी बिजुली फरार भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
सामान्य विवाद हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए । उनका अनुसार दुबै जना सँगै बसेर मदिरा सेवन गरेका थिए ।
बिजुलीले भाउजुमाथि पहिले कुटपिट गरेको र प्रहरीलाई खबर गर्दा गर्दै जैलुलाई आक्रमण गरेको प्रहरीको भनाइ छ । तरकारी काट्ने चक्कुले दाजुलाई आक्रमण गरेका थिए । प्रहरीले उक्त हतियार समेत बरामद गरेको छ । घटना बारे थप अनुसार भइरहेको प्रहरीले जनाएको छ ।