मोती उत्पादनको तयारीमा सुनसरीका कृषि वैज्ञानिक


विराटनगर । गहनाको रूपमा प्रयोग गरिने बहुमूल्य रत्न मोती उत्पादनका लागि सुनसरीमा सम्भाव्यता अध्ययन सुरु भएको छ । खोला नाला र पोखरीमा पाइने एक प्रकारको सिपीले मोती उत्पादन गर्छ ।
सिपी पानीमा पाइने एक जीव हो। यो विशेषतः तराई क्षेत्रका पोखरी, सिमसार, नहर, खोला र खोल्सामा पाइन्छ। मोती उत्पादन गर्ने सिपीको व्यवसायीक पालन गर्न सके मोती उत्पादन गरी आम्दानी बढाउन सकिने भएकाले मोती उत्पादन गर्ने सिपी खेतीको सम्भाव्यता अध्ययन सुरु गरिएको हो ।
कृषि अनुसन्धान निर्देशनालय तरहराले सिपी पालन गरी मोती उत्पादन गर्नका लागि अध्ययन सुरु गरेको हो ।
सिपी एक प्रकारको पानीमा पाइने जीव हो । जसले मोती उत्पादन गर्छ । सिपीको खेती सानो खोला खोल्सी र जलाशयमा पनि गर्न सकिने वैज्ञानिकहरू बताउँछन् ।
मोती उत्पादन गर्ने सिपी माछासँगै पाल्न सकिने वैज्ञानिकहरू बताउँछन् । नेपालको तराईदेखि मध्य पहाडी क्षेत्रका पोखरी, ताल, खोला, जलाशयमा मोती खेती गर्न सके विदेशबाट गहनाको रूपमा आउने मोती स्वदेशमै उत्पादन गर्न सकिने कृषि वैज्ञानिक डा मोहम्मद इकवाल हुसेनले बताए ।
उनकै नेतृत्वमा पोखरामा सात वर्ष अघिबाट मोती उत्पादनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । सो अध्ययनले पोखरा आसपासका क्षेत्रमा मोती उत्पादन गर्ने सिपी पालन व्यवसाय गर्न सकिने देखाएको छ । मत्स्य अनुसन्धान केन्द्र पोखराले गरेको अध्ययनले नेपालमा पनि सिपी खेती गरेर आम्दानी बढाउन सकिने पुष्टि गरेको थियो ।
पोखरा लगायतका क्षेत्रमा मोती उत्पादन गर्ने सिपी पालन व्यवसाय सम्भार भएपछि कोशी प्रदेशमा यसको सम्भावनाको बारेमा अध्ययन सुरु गरिएको कृषि अनुसन्धान निर्देशनालय तरहराले जनाएको छ । यस अघि पोखरामा मोती उत्पादन गर्ने सिपी पालन सम्भव देखिएको थियो ।
पोखरामा सम्भावना देखिएकाले मोती खेतीको सम्भावनाको विस्तारका लागि अध्ययन थालिएको निर्देशनालयका प्रमुख केशव श्रेष्ठले बताए ।
यसको बिस्तारको लागि कोशी प्रदेशमा पनि अध्ययन सुरु गरिएको कृषि अनुसन्धान निर्देशनालय तरहराका प्रमुख केशव श्रेष्ठले बताए ।
नेपालमा मोती खेती गर्ने प्रविधिको अभाव भए पनि ७ बर्सअघिदेखि यसको अनुसन्धान भइरहेको मत्स्य अनुसन्धान केन्द्र, पोखराका वरिष्ठ वैज्ञानिक डा। मोहम्मद इकबाल हुसेनले बताए ।
मत्स्य अनुसन्धान केन्द्र, पोखराका वरिष्ठ वैज्ञानिक हुसैन नेतृत्वका टोलीले २०१७ देखि पोखराको बेगनास तालमा सिपी खेतीबारे अध्ययन गरेको थियो । यो अध्ययनले नेपालमा पनि मोती उत्पादन गर्ने सिपी पालन गर्न सम्भव देखाएको छ ।
विकसित मुलुकमा मोती खेती गर्ने चलन भए पनि नेपालमा अझै हुन सकेको छैन । सिपी खोलानाला, पोखरीमा पाइन्छ । यसको बाहिरी फ्याँकेर मासु खान पनि सकिन्छ भने मोती उत्पादनमा पनि प्रयोग गर्न सकिन्छ ।
हुसेनका अनुसार एक हेक्टर क्षेत्रफलमा २० हजार सिपीको खेती गर्न सकिन्छ । पोखरीमा पालिएको सिपीका लागि धानको मसिनो ढुटो र पिना खुवाउन सकिन्छ । पोखरीमा माछा पाल्ने क्रममा हालिएको आहाराले पनि सिपीलाई खानेकुरा उत्पादन हुन्छ । सिपी पालन गर्ने पोखरीमा युरिया, कम्पोस्ट मल हालेपछि सिपीका लागि आहारा उत्पादन हुन्छ ।
संसारमा मोतीको उत्खनन हजारौँ वर्षअघि भएको थियो। गरगहनामा प्रयोग हुने मोती प्राकृतिक रत्न हो । जीवित जीवमा उत्पादन हुने भएकाले पनि बहुमूल्य रत्नका रूपमा लिइन्छ।