एमाले बागमतीको उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेलको उम्मेदवारी घोषणा


दोलखा । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा उपाध्यक्ष पदका लागि दोलखाका नेता ईश्वरचन्द्र पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।
बागमतीमा सिनियर नेतामा पर्ने पोखरेलले शुक्रवार आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
असोज ८ र ९ गते काठमाडौंमा आयोजना हुने बागमतीको पहिलो अधिवेशनमा अध्यक्षका लागि कैलाश ढुंगेल,कृष्ण प्रसाद दाहाल, केशव पाण्डेलगायतले उम्मेदवारी घोषणा गरे पनि उपाध्यक्षमा ईश्वर चन्द्रको उम्मेदवारी घोषणा भएको हो ।
एमाले दोलखाको ९ वर्ष अध्यक्ष भएर जिल्लामा पार्टीलाई सबै तहमा पहिलो बनाएका पोखरेलले प्रदेश उपाध्यक्ष दावी गर्नु स्वभाविक रहेको नेताहरूले बताएका छन् । पोखरेल २०७० देखि २०७८सम्म एमालेको दोलखा जिल्ला अध्यक्ष थिए ।
उनी बीचमा साबिक नेकपाको पनि जिल्ला अध्यक्ष थिए । जिल्ला अधिवेशन गरेर उनले नेतृत्व हस्तान्तरण गरेपछि प्रदेश कमिटी सदस्य छन् । उनीसरहका धेरै जुनियर नेताहरू केन्द्रीय कमिटीमा पुगिसकेका छन् ।
पोखरेल एमाले दोलखाका शीर्षस्थ नेतामा पर्छन् । उनी २०४९ मा साबिक जफे गाविसको अध्यक्ष निर्वाचित भई कांग्रेसको एकल जिविस रहेका बेला सशक्त प्रतिपक्षी नेताको रूपमा जिल्लामा स्थापित भएका थिए ।
२०५४ मा जिल्ला विकास समिति सदस्य भएका पोखरेल २०७४ मा तामाकोशी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । पोखरेल निरन्तर जिल्लामै बसेर काम गर्ने नेतामा पर्छन् ।