प्रदेश प्रमुखको औपचारिक कार्यक्रममा लुम्बिनीका मन्त्री तथा सांसदहरू नै अनुपस्थित, अधिकांश कुर्सी खाली – Nepal Press

प्रदेश प्रमुखको औपचारिक कार्यक्रममा लुम्बिनीका मन्त्री तथा सांसदहरू नै अनुपस्थित, अधिकांश कुर्सी खाली

रूपन्देही । संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार बोलाएको शुभकामना आदानप्रदान कार्यक्रममा केही मन्त्री र अधिकांश सांसदहरू नै अनुपस्थित रहे । प्रदेश सरकारले बुधबार देउखुरीमा कार्यक्रम गरेपनि प्रदेश प्रमुखले बिहीबार बुटवलस्थित कार्यालय परिसरमा कार्यक्रम आयोजना गरेका थिए ।

तर उनको कार्यक्रममा मन्त्री धर्मबहादुर चौधरी, भण्डारी लाल अहिर अनुपस्थित रहे भने प्रदेश सभाका अधिकांश सांसद गएनन् । उनीहरूका लागि व्यवस्थापन गरिएका कुर्सी खाली रहेका थिए ।

कार्यक्रममा प्रदेश प्रमुख शेरचनले प्रदेशले जनचाहना अनुसारको काम गर्नसके प्रदेशमाथि प्रश्न नउठ्ने बताए । संविधान दिवसको अवसरमा प्रदेश प्रमुखको कार्यालयले गरेको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमलाई सम्बोधन गर्दै शेरचनले प्रदेशले देखिने गरी काम गर्न नसक्दा प्रदेशमाथि प्रश्न उठ्ने गरेको बताए ।

प्रदेशले जनचाहना अनुसारको काम गर्न सके सरकार माथि प्रश्न नउठ्ने भएकाले देखिने गरी काम गर्न उनले प्रदेश सरकारलाई आग्रह गरे । उनले लुम्बिनी प्रदेशले अन्य प्रदेशले भन्दा राम्रो काम गरेर अन्य प्रदेशले अनुसरण गर्ने गरी काम गर्नु पर्ने बताए । लामो संघर्षपछि निर्माण भएको यो संविधान मौलिक प्रकृतिको भएको बताउँदै प्रदेश प्रमुख शेरचनले सबैले संविधान अनुसार काम गरे देशको विकास छिट्टै हुने दाबी पनि गरे ।

प्रदेश प्रमुखले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्ती, प्रमुख प्रतिपक्ष दलका नेता लिला गिरी सहित प्रदेश सरकारका केही मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

शुभकामना आदान प्रदानमा प्रदेश सभा सदस्यहरुका लागि राखिएको प्राय सबै कुर्सी खाली थिए भने बुटवलमा आमन्त्रण गरिएका धेरै संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थिएन । पहिलो पटक प्रदेश प्रमुखको शुभकामना आदानप्रदान खल्लो महसुस भएको कार्यक्रममा सहभागीको भनाइ थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर