मुख्यमन्त्रीलाई राउटेले भने- सरकार हाम्रो जनतालाई दशैं खर्च दिनुपर्‍यो – Nepal Press

मुख्यमन्त्रीलाई राउटेले भने- सरकार हाम्रो जनतालाई दशैं खर्च दिनुपर्‍यो

रुपन्देही । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसँग भेटघाट गरेका छन् ।

बिहीबार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोली र मुख्यमन्त्रीबीच भेटघाट भएको हो ।

राउटे शाहीले सरकारसँग दशैं खर्च माग्न आएको भन्दै मुख्यमन्त्रीलाई दशैं खर्च दिन आग्रह गरेका छन् ।

‘अब दशैं आइसक्यो, हाम्रो जनताले दशैंमा बलि पनि दिनु पर्छ, खसी पनि खानुपर्छ, सरकारले पैसा दिनु पर्‍यो’, उनले भने ‘८६ घर जनता छ, खसी खाना सरकारले २ लाख दिनु पर्छ । सबै मन्त्रीहरूले हामीलाई दशैं खर्च दिनुपर्‍यो, हामीले लगेर सबै जनतालाई बाँड्ने काम हुन्छ । खसी किन्न पैसा चाहियो ।’

उनले आफूहरू अहिले दैलेखमा बसिरहेको र दशैं खर्चका लागि दाङ आएको बताए । ‘तीज खर्चकै लागि आएका हौँ, उनले भने, तीज गई गो अब दशैं खर्च जुटाउनु परेको छ ।’

मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको लागि गर्न सहयोग गर्ने, दशै खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताए । उनले दशैं खर्चका लागि आवश्यक रकम राउटे समुदायलाई दिने व्यवस्था गरिने बताए ।

‘राउटेहरूलाई पहिलेदेखि नै सरकारले दशैं खर्च दिँदै आएको इतिहास पनि रहेछ, राउटेलाई खर्चकै कारण दशैं मनाउन समस्या हो भने लुम्बिनीले पनि केहि सहयोग गर्छ’, मुख्यमन्त्री चौधरीले भने, ‘२र३ दिनमा सरकारको केहि सहयोग हुन्छ ।’

भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालको समेत सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर