प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई परियोजनालाई केन्द्रमा राख्न नेताहरुको सुझाव


काठमाडौं । नेपालका राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगामी चीन भ्रमणले नेपाल-चीनको सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास व्यक्त गरेका छन् ।
नेपाल-चीन सामाजिक सम्बन्ध प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजित ‘हिमलाले जाेडेकाे मित्रता : नेपाल-चीन सम्बन्धको वर्तमान अवस्था र भविष्य’ विषयक अन्तरक्रियामा नेताहरुले प्रधानमन्त्रीलाई द्विपक्षीय हितका परियोजनालाई थप प्रगाढ बनाउने सन्धि र सम्झौता गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशबीच थप सुमधुर र तनावमुक्त सम्बन्ध बनाउन उल्लेखनीय भूमिका खेल्ने आशा व्यक्त गरे । उनले प्रधानमन्त्रीको भ्रमणका क्रममा बीआरआई परियोजनाको कार्यान्वयन योजनाका विषयमा सकारात्मक दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘अहिले बीआरआईबारे कार्यान्वयन सम्झौताका बहस चलिरहेको छ । आशा गरौं यो भ्रमणले सकारात्मक परिणाम दिनेछ ।’ उनले नेपालको विकास र समृद्धि उपलब्ध स्रोतसाधन र विदेशी सहयताको समुचित प्रयोगले सम्भव भएको उल्लेख गरे ।
त्यस्तै, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले चीनले नेपालको समृद्धिका लागि सधैं सहयोग गरेको र आगामी दिनमा पनि यस्तै साथको निरन्तरता हुने विश्वास व्यक्त गरिन् ।
नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणमा हुने उच्चस्तरीय भेटघाटले द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन र नेपाल र नेपाली जनताको हित सकारात्मक वातावरण सिर्जना गर्न सुझाव दिए । उनले बीआरआई परियोजनालाई कुनै पनि राजनीतिकरणबिना प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । ‘कनेक्टिभिटी आजको आवश्यकता हो, त्यसैले बीआरआई नेपालको प्राथमिकतामा पर्नुपर्छ’, भट्टराईले भने, ‘चिनियाँ रेल युरोपका सयौं शहरहरुमा पुगेका छन्, तर हामी घनिष्ठ छिमेकी भएर पनि हाम्रो राम्रो भविष्यको लागि यस्तो लिंक सिर्जना गर्न सकेका छैनौ ।’
उनले बीआरआईका विषयमा गलत व्याख्याहरु भइरहेकोमा वर्तमान सरकार यसबारे गम्भीर हुनुपर्ने बताए ।
कार्यक्रमका अन्य वक्ताले प्रधानमन्त्रीलाई चीनको थप विश्वास र भरोसा प्राप्त गर्न सुझाव दिएका थिए ।
प्रधानमन्त्री प्रचण्ड चीनको हान्झाउको लागि अमेरिकाको न्यूयोर्कबाट यही शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन् । पछिल्लो समय प्रधानमन्त्री भएपछि प्रचण्डको यो पहिलो चीन भ्रमण हो ।