जनप्रतिनिधि र कर्मचारी थाकेकाे भन्दै मण्डनदेउपुर नगरपालिकामा बिहीबार ‘थकाइ’ बिदा
नगरप्रमुख वाइवा भन्छन्- मानवीयताको दृष्टिकोणले थकाइ बिदा दिइएको हो


काठमाडौं । काभ्रेपलाञ्चोकको मण्डनदेउपर नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आठौं संविधान दिवसको अवसरमा बुधबार नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएको नगरपालिकाले एक सूचना जारी गर्दै विदा दिएको जानकारी गराएको हो ।
‘तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधि थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालय, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर–सरकारी संस्थालाई बिदा गरिएको छ’, नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिका पुरानो कार्यालयबाट नयाँ भवनमा सरेको, कार्यालय सार्नेक्रममा गत शनिबारदेखि नै लगातार बिहानदेखि रातिसम्म कर्मचारी खटिएका रआज संविधान दिवसका दिन पनि उनीहरु दिनभर नै कार्यालय सार्ने र व्यवस्थापन गर्ने काममा खटिएका कारण थकित भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको नगरप्रमुख टोकबहादुर वाइबाले नेपाल प्रेसलाई जानकारी दिए ।
उनले भने, ‘आज संविधान दिवसको दिन कर्मचारीलाई दिनभरी काममा खटिनुभयो । लगातार गत निबारदेखि पनि कार्यालय व्यवस्थापन दिनरात नभनेर खटिनुभयो । नयाँ भवनबाट अर्को भवनमा सार्ने बेला कर्मचारी निरन्तर थाके पनि । कर्मचारी मात्रै होइन, हामी जनप्रतिनिधि पनि काममा खटिएकाले थाक्यौ । मानवीय दृष्टिकोणबाट बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेका हौ ।’
उनले थप्दै भने, ‘पहिले वडा नम्बर सातको कुन्ताबेसीमा नगरपालिकाको कार्यालय थियो । अहिले सोहि वडाको माथी मनमती डाडामा कार्यालय सार्यौ । कार्यपालिकाको बैठक तत्काल बस्न सक्ने अवस्था थिएन । नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बसेर सार्वजनिक बिदा दिने निर्णय गरेका हौ ।’
नगरपालिकाका सूचना अधिकारी कासीनाथ नेपालले पनि नयाँ कार्यालय सरेका कारण निरन्तर दुई तिन दिनदेखि जनप्रतिनिधि तथा कर्मचारी खटिएको र थकिएकाले सार्वजनिक विदा दिने निर्णय भएको बताए । तर, उनले सूचनामा ‘थकाई’ बिदा लेख्दा शब्द चयनमा केहि कमजोरी भएको बताए ।
उनले भने, ‘नगरपालिकाले आवश्कताका आधारमा दुई तीन वटा विदा दिन पाउँछ । कार्यापालिकाको बैठक बसेर निर्णय गर्नुपर्ने हो । तर, तत्काल बैठक बस्न नसक्ने अवस्था भएका कारण नगरप्रमुख स्तरीय निर्णयबाट सार्वजनिक विदा दिने निर्णय भएको हो ।’
उनले बुधबार संविधान दिवसका अवसरमा सार्वजनिक विदा भए पनि दिनभर दिवस मनाउनेदेखि नयाँ कार्यालय सुभारम्भ गर्ने काममा जनप्रतिनिधि तथा कर्मचारी व्यवस्त भएकाले बिहीबार सार्वजनिक बिदा दिइएको बताए ।