काठमाडौंका प्रअहरुद्वारा बालेनलाई अटेर, विद्यालय बन्द गरी माइतीघर मण्डलामा हाजिर हुने निर्णय


काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले भोलिबाट विद्यालय बन्द गराइ माइतीघर मण्डलामा नियमित हाजिर हुने निर्णय गरेका छन् । महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनलाई अवज्ञा गर्दै उनीहरुले आज सो निर्णय गरेका हुन् ।
सरकारले संघयि संसदमा पेश गरेको शिक्षा विधेयक खारेजीका लागि नेपाल शिक्षक संघले गरेको आन्दोलनमा समर्थन गर्ने काठमाडौंका प्रधानाध्यापकहरुको बैठकले निर्णय लिएको छ । बैठकपछि जारी विज्ञप्तिमा ‘अर्को सूचना नभएसम्मका लागि माइतिघर मण्डलामा नियमित हाजिर हुने गरी सम्पूर्ण शिक्षक कर्मचारीहरु उपस्थित हुन’ अनुरोध गरिएका छ ।
‘आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिप्रति संवेदनशील हुँदै उक्त क्षतिलाई परिपूर्ति गर्न विदाका दिनमा पठनपठन गरिने प्रतिवद्धता व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा काठमाडौंका ३० सामुदायिक विद्यालयका प्रअले हस्ताक्षर गरेका छन् । आजै काठमाडौंका मेयर बालेन्द्र साहले विद्यालय बन्द गराउनेहरुमाथि कारबाही गरिने भन्दै फेसबुकमा स्टाटस लेखेका थिए ।