बाह्रबिसेका मेयरको मनोमानी- दोहोरीमा रमाइलो गरेको बिलसमेत नगरपालिकाबाटै भुक्तानी गर्न दबाब
मेयरले उपभोक्ता समितिसँग ३० प्रतिशत कमिसन लिएपछि विकासको काम गुणस्तरहीन, दबाब झेल्न नसकेर प्रशासकीय अधिकृतको भागाभाग


काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका मेयरको गैरकानूनी दबाबका कारण कर्मचारी हैरान भएका छन् भने प्रशासकीय अधिकृतहरु जान नमान्ने तथा गएकाहरु बस्न नमान्ने समस्या बढेको छ ।
व्यक्तिगत प्रयोगका लागि खरिद गरिएका सामग्रीहरुको समेत नगरपालिकाबाटै भुक्तानी गर्न मेयर बालकृष्ण बस्नेतले कर्मचारीहरुलाई दबाब दिने गरेपछि उनीहरु हैरान भएका हुन् । दोहोरी रेष्टुरेन्टमा रमाइलो गरेको,मादक पदार्थ सेवन गरेको लगायत घरायसी प्रयोजनका लागि खरिद गरिएका सामग्रीहरुको समेत भुक्तानी गर्न दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत सुष्मा केसी आएको केही महिनामा नै सरुवा भएर गएकी छन् ।
केही समय अगाडि एक दोहरी रेष्टुरेन्टमा मेयर बस्नेतले मदिरा सेवन गर्दे नृत्य गरेर त्यहाँका कलाकारहरुलाई पैसा बाँडेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । मेयर बस्नेतले उक्त दोहोरीमा खाएको लाखौ रुपियाँ नगरपालिकाबाटै भुक्तानीका लागि प्रमुख प्रशासकीय अधिकृत केसीलाई दबाब दिएका थिए ।
बस्नेतले भुक्तानी नदिए राम्रो नहुने चेतावनी दिएपछि केसीले मन्त्रालयमा सरुवा मागेको बाह्रविसे नगरपालिकाका एक कर्मचारीले जानकारी दिए । मेयर बस्नेतले बाह्रविसे नगरपालिकामा रहेको मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट थर्काएर लाखौं कमिशनसमेत माग्ने गरेको मध्यभोटेकोशी जलविद्युत आयोजनाका एक कर्मचारीले जानकारी दिए ।
मेयर बस्नेतले कवाडी व्यावसायीहरुसँग पनि कमिशन लिने गरेको कवाडी व्यावसायीहरुले दुःखेसो गरेका छन् । ‘हामीसँग विभिन्न वहानामा रकम माग गर्ने गरेका छन्’, बाह्रबिसेका एक कवाडी व्यावसायीले भने ।
नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत केसी सरुवा भएपछि अहिले कोही पनि प्रमुख प्रशासकीय अधिकृत बाह्रविसेमा जान मानेका छैनन् ।
केही दिन अगाडि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत सहभागी तीज कार्यक्रममा कार्यपालिकाबाट ७ लाख रुपियाँ विनियोजन गरिएको थियो । तर प्रमुख प्रशासकीय अधिकृत नहँुदा उक्त रकम भने निकासा हुन पाएको छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजू देउवा सहभागी हुन कांग्रेसका सबै कार्यकर्ताहरुलाई बाह्रबिसेमा उपस्थिति हुन मेयर बस्नेतले उर्दी जारी गरेका थिए । तर देउवा नआएपछि स्वास्थ्यमन्त्री बस्नेत नै कार्यक्रमका प्रमुख अतिथी भएका थिए ।
केही दिन अगाडि कांग्रेसनिकट महिला संघले तीजको अवसरमा आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा आउने भएपछि मेयर बस्नेत कार्यक्रम असफल बनाउन लागेका थिए । महिला संघले कार्यक्रम गर्ने स्थानमा बस्नेतको निर्देशनमा केही दिन अघिदेखि नै दुई तीनवटा गाडी बिगारेर राखेपछि महिला संघले सडकमा नै तिज कार्यक्रमको आयोजना गरेका थिए ।
केन्द्रीय महामन्त्री सहभागी हुने कार्यक्रममा मेयर बस्नेतले अवरोध गरेपछि थापानिकट मानिएका तरुण नेताहरुले उनको उछितो काटेका थिए । मोहन बस्नेत गगन थापाको विरोधी भएका कारण उनका भाइ मेयरले अवरोध गरेको आरोप समेत छ ।
तरुण नेताहरु सगुन श्रेष्ठ,दोर्जे लामा लगायतले मेयर बस्नेतको रवैयाको चर्काे विरोध गरेका थिए । कांग्रेस महामन्त्री थापाले पनि सिन्धुपाल्चोकको कांग्रेसमा अझै पनि लोकतन्त्र आइनसकेको प्रतिक्रिया दिएका थिए ।
मेयर बस्नेतले आफूनिकट व्यक्तिहरुलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर त्यसबापत प्रत्येक योजनाबाट ३० प्रतिशत कमिशन लिने गरेको उपभोक्ता समितिका पदाधिकारीहरुले गुनासो गर्ने गरेका छन् ।
उपभोक्ता समितिलाई नगरपालिकाले पैसा दिने र त्यही उपभोक्तासँग मेयरले कमिसन माग्ने गर्दा कमसल काम भएको र यसबीचमा भएका ढलानहरु चर्किएका छन् । गुणस्तरहीन कामको भुक्तानी रोक्न खोज्दा अनुगमन समिति र कर्मचारीमाथि मेयर खनिने गरेको जनप्रतिनिधि बताउँछन् ।
मेयरले कार्यपालिका बैठक नै नबसी माइन्युट बनाएर कार्यपालिका सदस्यहरुलाई बोलाएर हस्ताक्षर गराएपछि जनप्रतिनिधिको समेत भागाभाग हुन थालेको छ । यस विषयमा मेयर बस्नेतको प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।