संविधान दिवसमा राष्ट्रपतिको निम्तो मान्न गएनन् ओली र बालेन


काठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको रात्रिभोजमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली अनुपस्थित भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि गएनन् ।
राष्ट्रपति कार्यालयका अनुसार उनीहरू दुवैलाई आमन्त्रण गरिएको थियो । अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले पार्टीकै आयोजनामा संविधान दिवसको अर्को कार्यक्रममा अध्यक्ष सहभागी भएको बताए ।
‘अहिले नारायणचौरमा द्वीप प्रज्ज्वलनमा अध्यक्षज्यू जानुभएको छ । एकै समय दुई कार्यक्रम परेकाले शीतल निवास जान सक्नुभएन,’ उनले भने ।
मेयर शाह नजानुको कारण खुल्न सकेन । महानगरका प्रवक्ता नवीन मानन्धरले यसबारे जानकारी नभएको बताए । मेयर बालेनले यस वर्षको गणतन्त्र दिवसको समारोह भने बहिष्कार गरेका थिए ।
बालेन आज बिहान संविधान दिवसको औपचारिक कार्यक्रममा भाग लिन टुँडिखेल गएका थिए । उनी कोट पाइन्ट र कालो चश्मा लगाएर पुगेका थिए ।
ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन भने शीतल निवास पुगेका थिए ।