दलाल नोकरशाही पूँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या : माधव नेपाल (भिडिओ)


काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले दलाल नोकरशाही पूँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताएका छन् ।
बुधबार नेपाल रिटर्नी एशोसिएशनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नोकरशाही पूँजीवादले नेपालको राजनीति र अर्थतन्त्रलाई कब्जामा लिएका कारण संविधान कार्यान्वयनमा समस्या भएको जिकिर गरे । उनले शोषणको नयाँ-नयाँ रूपहरूलाई अन्त्य गर्दै राष्ट्रिय पूँजी विकासको वातावरण तयार नगरेसम्म संविधानमा लेखिएको कुरा व्यवहारमा लागू गर्न नसक्ने बताए ।
संविधानले सबै प्रकारका अधिकार दिएको भएपनि त्यसको कार्यान्वयनमा भने चुनौती रहेको उनको भनाइ छ ।
नेपालले भने, ‘संविधानको पानालाई पल्टाएर हेर्दा संविधानले भन्न छुटेका कुरा सम्भवतः केही छैन होला । तर, चुनौती के छ भने संविधानमा लेखिएको प्रावधानलाई व्यवहारमा लागू गर्ने कसरी ? नेपाली विशेषताको समाजवादलाई व्यवहारमा लागू गर्ने कसरी ? यस अर्थमा नेपाली विशेषताको समाजवादको बारेमा विषयवस्तुको अभाव देखिँदैन । गर्नुपर्ने कामको पनि अभाव देखिँदैन । तर योजनावद्ध ढंगले अगाडी बढ्ने कुरामा, व्यवहारमा लागू गर्ने कुरामा, मौलिक हक र अधिकारहरु जनतालाई प्रदान गर्ने कुरामा धेरै समस्याहरू देखिन्छ । समस्याको पहिलो कारण हाम्रो देशमा अहिलेपनि दलाल नोकरशाही पुँजीवादले जसरी नेपालको राजनीति र अर्थतन्त्रलाई पूरै आफ्नो कब्जामा लिएको छ । त्यसबाट सबभन्दा पहिले मुक्त गर्नुपर्ने आवश्यकता छ ।’
संविधानमा उल्लेख गरिएका कुरालाई व्यवहारमा लागू गरेर देखाउन आग्रह गरेका छ । नेपालले एकीकृत समाजवादी र समाजवादी मोर्चाले सरकारले गरेको राम्रो कामहरूलाई साथ दिने बताउनु भयो ।