विकास र समृद्धिको अभियानमा अघि बढ्न संविधान दिवसले सबैलाई प्रेरित गरोस् : प्रदेश प्रमुख शर्मा – Nepal Press

विकास र समृद्धिको अभियानमा अघि बढ्न संविधान दिवसले सबैलाई प्रेरित गरोस् : प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानले परिकल्पना गरेको विकास र समृद्धिको शिखरमा पुग्ने अभियानमा निरन्तर अघि बढ्न संविधान दिवसले सबैलाई प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।

बुधवार मनाइँदै गरिएको ‘संविधान दिवस २०८०’ का सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले हामीले प्राप्त गरेको संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँध्ने काम गरेको बताए ।

प्रमुख शर्माले नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपछि जन निर्वाचित प्रतिनिधिहरुले संविधान निर्माण गरी जारी गरेको ऐतिहासिक दिनलाई भरपुर उत्साह र उमङ्गका साथ ‘संविधान दिवस’ का रूपमा मनाइरहेका उल्लेख गरेका छन्। प्रमुख शर्माले संविधान दिवस सम्पूर्ण नेपालीहरूले राष्ट्रिय पर्वका रूपमा मनाउने गरिएको बताएका छन् ।

जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार,आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने संकल्पसहित संविधान जारी भएको प्रमुख शर्माको भनाई छ ।

जनजीविकाको लागि अपरिहार्य शिक्षा, स्वास्थ्य र रोजगारीको हकसहित ३१ वटा मौलिक हकको व्यवस्था गरी नागरिकहरूलाई यो संविधानले अधिकार सम्पन्न बनाएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर