गैरीगाउँ हत्याकाण्ड: अनाहकमा दुई दिन हिरासत राखिएका दीपेन्द्र मिडियासँग ‘आगो’ – Nepal Press

गैरीगाउँ हत्याकाण्ड: अनाहकमा दुई दिन हिरासत राखिएका दीपेन्द्र मिडियासँग ‘आगो’

काठमाडौं । ‘ए फेरि मीनभवन आउनु ?’ नेपाल प्रेसले दीपेन्द्र राईसँग मोबाइल सम्पर्क गर्दा प्रहरी भन्ने बुझेछन् क्यारे, टेकुस्थित काठमाडौं प्रहरी परिसरमा रहेका उनी दिक्क मानेर भन्दै थिए ।

प्रहरी हिरासतबाट छुटे पनि दीपेन्द्र सोमबार टेकु प्रहरी कार्यालयमै पुगेका रहेछन् । उनी बस्दै आएको काठ मिलमा ४ जनाको हत्या भएपछि प्रहरीले उनलाई दुई रात हिरासतमा राखेर आइतबार साँझ छाडेको थियो । शुक्रबार राति घटनाबारे खबर गर्न पुगेका दीपेन्द्रलाई उल्टै प्रहरीले नियन्त्रणमा लिएको हो ।

दीपेन्द्रविरुद्ध किटानी जाहेरी आए पनि प्रहरी गहिरो अनुसन्धान गर्दै घटनामा संलग्न भएका वास्तविक व्यक्तिलाई पक्राउ गर्न सफल भयो । त्यसपछि बल्ल दीपेन्द्र छुटेका हुन् । दीपेन्द्रसँगै बस्दै आएका उनका काकाका छोरा नवीनसहित ४ जनाको उक्त घटनामा विभत्स हत्या भएको थियो ।

आफू पत्रकार भएको बताएपछि मोबाइल सम्पर्कमा दीपेन्द्रको बोलीमा एकाएक आक्रोश देखियो । ‘जे हुनु मेरो भाइको भइसक्यो, तपाईंहरुले के छाप्नु भएको छ ? गलत प्रचारको पीडित भइसकें । चाहिनेभन्दा पनि नचाहिने न्युजहरु छापिदिने, मेन्टल्ली टर्चर दिने ?’, दीपेन्द्रले एकै सासमा भने ।

प्रहरी आफैंले शनिबार बिहान दीपेन्द्रको नाम बाहिर ल्याएको थियो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएपछि केही सञ्चारमाध्यमहरुले दीपेन्द्रलाई नै अभियुक्त बनाएर प्रस्तुत गरेका थिए ।

‘सकेसम्म त्यो न्युज के केमा छ, सबैले हटाए राम्रो । एकातर्फ मेरो परिवारभित्र भाइलाई त्यस्तो भाको छ, अर्कोतिर मेन्टल्ली टर्चर दिने कुराहरु लेखेर, यो एकदम गलत हो’, उनले गुनासो पोखे । उनले मिडियाका कारण आफ्नो जीवनमा ठूलो क्षति भएको पनि बताए ।

‘मेरो समस्या कुनै पनि मिडियाले टार्न सक्दैन । कसैले पनि क्षतिपूर्ति गर्न सक्दैन’, उनको आक्रोश छ ।

आइतबार प्रहरीले टेकु पुर्‍याउँदा उनी शारीरिक र मानसिक रुपमा निकै शिथिल देखिन्थे । ‘यताउता धाउँदा धाउँदा हत्तु भइसकें । मैले नगरेको चिज मेरै टाउकोमा आइपर्‍यो’, दीपेन्द्र भन्दै थिए ।

आइतबार साँझ प्रहरीले घटनामा संलग्न भएको आरोपमा सिन्धुपाल्चोकका २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरेको थियो । अपराधी सार्वजनिक भएपछि दीपेन्द्रले राहत त महसुस गरेका छन्, तर बेचैनी सकिएको छैन । काठ मिलमा बस्दै आएका प्रिय भाइसहित ४ जनाको हत्या भएपछि दीपेन्द्रले आफूलाई पनि सुरक्षित ठानेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर