इटहरीमा खोलापैनी मिचेको संरचना हटाउन दिएको म्याद सकियो, उपमहानगरले भत्काएन – Nepal Press

इटहरीमा खोलापैनी मिचेको संरचना हटाउन दिएको म्याद सकियो, उपमहानगरले भत्काएन

विराटनगर । खोला पैनी मिचेर बनेका अवैध संरचना हटाउन इटहरी उप महानगरले दिएको म्याद सकिएको छ ।

अन्तिम पटकका लागि भनेर भदौ १७ गते सात दिनका लागि म्याद दिएकोमा सो म्याद सकिँदा पनि इटहरीका मेयर हेम कर्ण पौडेलले अवैध संरचना भत्काउन सुरु गरेका छैनन् । दिएको म्याद सकिँदा पनि काम सुरु नगरपछि सर्वसाधारणले अवैध संरचना हटाउने घोषणा राजनीतिक स्टनबाजी मात्रै हो की भन्दै शङ्का गरेका छन् ।

यस विषयमा सामाजिक सञ्जालमा इटहरी उप महानगरपालिकाको आलोचना भइरहेको छ ।

अवैध रूपमा खोला पैनी मिचेर बनाएका अवैध संरचनाका कारण इटहरी क्षेत्र डुबानमा परेको भन्दै संरचना भत्काउन नगरपालिकाले पटक पटक प्रतिबद्धता जायर गर्दै आएको छ । इटहरीका मेयर हेम कर्ण पौडेलले खोला पैनी मिचेर बनेका अवैध संरचना भत्काउन भन्दै असार ३१ गते पहिलो पटक सार्वजनिक सूचना जारी गरेका थिए ।

दोस्रो पटक भदौ ३ गते १५ दिने म्याद दिँदै सार्वजनिक सूचना जारी गरेका थिए । उप महानगरले खोला पैनी मिचेर बनाएको संरचना भत्काउने विषयमा अन्तिम पटक भन्दै भदौ १७ गते सात दिनको म्याद राखेर सूचना जारी गरेको थियो ।

उप महानगरले दिएको खोला पैनी मिचेर बनाएका संरचना हटाउन दिएको म्याद भदौको २४ गते सकिएको छ ।

सार्वजनिक सूचना जारी गरेको म्याद सकिए पनि खोला पैनी मिचेर बनाएका संरचना उप महानगरले नभत्काएको भन्दै सामाजिक सञ्जालमा मेयर हेम कर्ण पौडेलको आलोचना गरिरहेका छन् ।
आलोचना भए पनि उनले खोलापैनि मिचेका संरचना भत्काउन सुरु गरेका छैनन् । यस अघि इटहरीका पूर्व मेयर द्धवारीकलाल चौधरीले खोला पैनी मिचेका संरचना भत्काउन सुरु गरे पनि राजनीतिक दबाबका कारण उनी यो कामबाट व्याक हटेका थिए ।

सूचना जारी गरेसँगै उप महानगरले इटहरी उप महानगर वातावरण शाखाका अधिकृत पुष्प नारायण चौधरीको संयोजकत्वमा इटहरीमा खोला पैनी मिचेर बनेका संरचना भत्काउने विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।

कार्यदलले प्राविधिक टोलीले टेँग्राखोलाको मुहानबाट नाप जाँच सुरु गरेको थियो । गत साउन ९ गतेदेखि प्राविधिक टोलीले इटहरी उपमहानगरपालिका वडा नम्बर २ बाट काम थालेको थियो । अध्ययन अनुसार टेङ्ग्रा खोलामा मात्रै ७४ वटा संरचनाहरू खोला मिचेर बनाइएको पाइएको छ । जसमध्ये २२ वटा आरसिसी (पक्की) भवन निर्माण भएका समितिले जनाएको छ ।

समितिका एक सदस्यका अनुसार इटहरीको बिचबाट बग्ने ट्याङ्ग्रा खोला मिचेर बनेका यस्ता संरचनामा घर, सरकारी तथा सामुदायिक भवन, विद्यालय र चर्च समेत छन् । अन्य संरचनामा गाईबस्तुका गोठ, सुँगुरका खोरहरू रहेको पाइएको छ ।

अध्ययन अनुसार धेरै ठाउँमा व्यक्तिको जग्गामा खोला बगेको भेटिएको छ भने खोलाको जग्गामा संरचना बनेका छन् । अहिले व्यक्तिको जग्गामा खोला बगेको भेटिएको कार्यदलका संयोजक चौधरीले बताए । मुहानदेखि दक्षिणी सीमासम्म धेरै ठाउँमा खोला पूर्व तथा पश्चिम मोडिएको छ ।

‘अहिले खोलाको चौडाइ कतै १० फिट मात्रै देखिएको छ भने केही ठाउँमा ५० फिट सम्म पाइएको छ, चौधरीले भने, खोलाले धार परिवर्तन गर्दै ठाउँ छाडेर न्यूनतम ३० फिटदेखि अधिकतम १ सय ५६ फिटसम्म सरेको छ ।

इटहरीका वडा न. ४, ६ र ९ मा बढी समस्या देखिएको छ । यी वडामा खोला मिचेर ठुला खालका भौतिक संरचना निर्माण भएका छन् । यी वडामा धेरै संरचना भत्काउनु पर्ने देखिएको छ । यी वडा इटहरीको मुख्य बजार क्षेत्रमा हो । खोलाको जग्गा कित्ताकाट गरी अन्य व्यक्तिको नाममा पास भएको समेत पाइएको छ ।

इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेलले खोला पैनी मिचेर बनाएका संरचना भत्काउन निर्मम हुने अभिव्यक्ति दिँदै आएका छन् । नाप जाँच कार्यदलले दिएको प्रतिवेदन साथै खोला, पैनी मिचेर बनाइएको संरचना खाली गर्न दिएको समय सकिएको भोली पल्टै भत्काउन सुरु गर्ने मेयर पौडेलको दाबी छ ।

इटहरी उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले कार्यदलले ड्राप्फ्ट बुझाएको र अन्तिम प्रतिवेदन नबुझाएको उपमहानगर एक्सनमा नगएको बताए । उनले अन्तिम प्रतिवेदन आएपछि कार्यपालिका वैठक वसि अवैध संरचना भत्काउन सुरु गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *