मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय – Nepal Press

मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय

जनकपुरधाम । अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगले अब छुटपुट निवेदन दर्ता बन्द गर्ने निर्णय गरेको छ ‌।

आज बसेको आयोगको बैठकले पहिले परेका निवेदनको फर्छयौट भइसकेपछि मात्र छुटपुट निवेदन लिने निर्णय गरेको हो । निर्णय बमोजिम आयोगले तत्काल छुटपुट निवेदन दर्ता बन्द गर्न सबै जिल्ला प्रशासनलाई पत्राचार गरिएको छ ।

‘पहिले परेका निवेदन नै फछ्यौट भइ नसकेकोले निवेदन दिने म्याद सदाको लागि खुला राख्दा पहिले निवेदन दिने निवेदकहरुलाई अन्याय हुन सक्ने अवस्था देखिएको छ’, आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भने, ‘पहिले परेका निवेदन फछ्यौट भइ सकेपछि खास पीडितको हकमा पछि निवेदन दिन म्याद दिने गरी हाललाइ छुटपुट निवेदन दर्ता बन्द गर्ने निर्णय गरेका छौं ।’

आयोगले मिटरब्याज सम्बन्धी उजुरी दर्ता गराउन ०८० बैशाख १७ देखि सुरुमा एक महिनाको म्याद दिइएको थियो । अझै केही पीडित छुटेको गुनासो आएपछि आयोगले पुनः थपेको थियो ।

आयोगमा मिटरब्याज सम्बन्धी २४ हजार ५०० निवेदन परेका छन् । त्यसमध्ये चार हजार निवेदनको मेलमिलापबाट फछ्र्यौट भइसकेको छ ।

छुटपुटको नाममा पछि पर्न आएका धेरै जसो निवेदन ठूलठूला ब्यापारिक कारोबार सम्बन्धी परेको र सो निवेदन आयोगको नीति तथा क्षेत्राधिकार बाहिरका समेत देखिएको आयोगले जनाएको छ ।

सहकारी संस्था, लघु वित्त संस्था, वैंक वित्तिय संस्था र फाइनान्स कम्पनीमाथि समेत निवेदन परेको छ । तर यस्ता निवेदन आयोगको क्षेत्राधिकारमा नपर्ने भएकोले कारबाही गर्न नमिल्ने भन्दै आयोगले तामेलीमा राखी निवेदकलाई जानकारी दिने निर्णय पनि गरेको छ ।

आयोगका अध्यक्ष कार्कीले गरिबीको रेखामुनीका निवेदकहरुको पहिले परेका निवेदनको फछ्यौट भएपछि मात्र ठूलठूला व्यापारिक कारोबारका विषयमा छानविन गर्ने गराउने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर