कांग्रेसमा कोइराला दाजुभाइ- शेखरले प्रचण्डको विकल्प खोज्दा शशांक पाँचै वर्षको पक्षमा – Nepal Press

कांग्रेसमा कोइराला दाजुभाइ- शेखरले प्रचण्डको विकल्प खोज्दा शशांक पाँचै वर्षको पक्षमा

काठमाडौं । सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्र इतर पक्षको नेतृत्व गरिरहेको डा. शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको विकल्प खोज्दा डा. शशांक कोइराला पाँचै वर्ष निरन्तरताको पक्षमा देखिएका छन् ।

गठबन्धन दलहरूबीच आलोपालो सहमति भएर पहिलो कार्यकाल प्रचण्डले सरकारको नेतृत्व गरिरहेको बेलामा नेता कोइरालाले यही सरकारकाले पाँचै वर्ष निरन्तरता पाउने संकेत गरेका हुन् ।

इतर पक्षमा रहेका अधिकांश नेताह सरकारकै कारणले अराजकता बढेको निष्कर्षसहित विकल्प खोज्नुपर्नेको पक्षमा छन् । शेखरसहित महामन्त्री गगन थापासहित इतर पक्षका अधिकांश नेताहरू सरकारको विकल्प खोज्नुपर्ने पक्षमा वकालत गर्न थालिसकेका छन् ।

यद्यपि, पार्टीमा अहिलेसम्म सभापति शेरबहादुर देउवाको निर्णय नै हावी हुने भएपनि नेताहरूले सरकारको विकल्प खोज्न आन्तरिकरूपमा दबाब बढाइरहेका छन् । सरकार असफल भए कांग्रेसलाई नै हानी हुने निष्कर्षसहित इतरपक्ष प्रचण्ड सरकारप्रति आक्रमक छ ।

पछिल्लो समय सभापति देउवानिकट रहेको चर्चा चलिरहेको बेलामा नेता कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताए ।

आइतबार चितवनका पुगेका सरकारले सत्ता गठबन्धनमा सामान्य खटपट भएको स्वीकार्दै भने, ‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ । सरकारको स्थायित्व भएमात्रै देशको विकास सम्भव हुन्छ ।’

प्रचण्ड प्रधानमन्त्री प्रचण्ड साधारण व्यक्ति नभएको समेत विश्लेषण गरे । उनले पछिल्लो तिक्तताको कारणले माओवादी फेरि एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको भन्दै अहिलेको गठबन्धनलाई अगाडि बढाउनुको विकल्प नभएको सुनाए ।

त्यसो त पछिल्लो समय देउवासँग नजिकिँएका कोइरालाले आफू १५औं महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिको उम्मेदवार हुनेसक्ने बताउँदै आइरहेका छन् ।

देउवाले अर्को कार्यकाल आफू नउठ्ने घोषणा गरेपछि कोइराला परिवारबाट शशांकलाई अघि सार्नेबारे चर्चा छ । शशांकमार्फत् कोइराला परिवारलाई पार्टी नेतृत्व हस्तान्तरण गर्दा तल्लो तहसम्मका कार्यकर्ता वृत्तमा पनि सकारात्मक सन्देश प्रवाह हुने देउवाले बुझाइ राखेको नेताहरू बताउँछन् ।

यद्यपि, संस्थापन र इतर पक्षलाई नै विश्वासमा लिएर १५औं महाधिवेशनमा सर्वसम्मत सभापति बन्नको लागि शेखरले केही सयम ‘पर्ख र हेर’ को नीति बनाएका थिए । तर, देउवाले शशांकलाई छाड्ने संकेत पाएपछि शेखर आफ्नो समूह बलियो बनाउनतिर लागिसकेका छन् । १४ औं महाधिवेशनमा ‘पावर सेयरिङ’ मा कुरा नमिलेपछि उनीहरू अलग भएका थिए। शशांकले अप्रत्यक्षरूपमा देउवालाई सघाएका थिए ।

पार्टीका नेताहरूबीच प्रचण्ड सरकारबारे दुई धार हुँदा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले तत्काल सरकार परिवर्तनको सम्भावना नभएको प्रष्टाइसकेका छन् । नेताहरूबीच यो विषयमा दुई धार भएर केन्द्रीय समितिको बैठकमा समेत कुरा उठाउने तयारी गरिरहेको बेलामा देउवा बोलेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर